गण्डकी प्रदेश सरकारद्वारा दूध उत्पादक किसानलाई तीन करोड अनुदान


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित




साउन २४ पोखरा । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

सरकारले ६४ सहकारी संस्थाबाट १३ हजार नौ सय ६१ मेट्रिक टन दूध उत्पादन भएका आधारमा प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो । सहकारी संस्थाबाट दूध बिक्री गर्ने किसानले मात्र यस्तो सहयोग सरकारबाट पाउने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा भट्टराईले बताए ।

सरकारले दूध उत्पादन प्रोत्साहन सहयोग कार्यक्रममा अनुदान वृद्धि गर्ने योजनाअनुसार गत वर्ष रु छ करोड ५५ लाख बजेट विनियोजन गरेको थियो । “अनुदान रकम दोब्बर वृद्धि गर्नेगरी बजेट विनियोजन भएको थियो, तर वृद्धिको कार्यविधि र राजपत्रमा प्रकाशनमा ढिलाइ हुँदा गत वर्ष कार्यान्वयन हुन सकेन”, महानिर्देशक भट्टराईले भने ।

सरकारले उत्पादनका आधारमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । यसबाट दूध उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । दूधको राष्ट्रिय उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष ८८ लिटर रहेकामा गण्डकीको उपलब्धता एक सय आठ लिटर रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।