भदौ १ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको एक विद्यालयमा बुक फ्रि फ्राइडेको शुरुवात गरिएको छ ।
गाउँपालिको वडा नम्वर २ को पहलमा विद्यार्थीलाई सैद्धान्तिकसँगसँगै व्यवहारीक शिक्षा दिने उद्देश्यले बुक फ्रि फ्राइडे कार्यक्रमको शुरुवात गरिएको हो । आफ्नो दैनिकीमा आवश्यक पर्ने कामकाज तथा अन्य व्यवहारीक ज्ञानको विषयमा जानकारी दिइने गरि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको शुक्रबार स्थानचौरस्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयमा कटुसको पातबाट दुना टपरी बनाउन सिकाउँदै उक्त कार्यक्रमको शुरुवात गरिएको वडा नम्वर २ का वडाध्यक्ष अभिलाश गुरुङले जानकारी दिए । पहिलो पटक शुरु गरिएको उक्त कार्यक्रम वडाका सबै विद्यालयहरुमा क्रमश सञ्चालन गरिने उनले बताए । उनका अब देखि शुक्रबारको दिन विद्यार्थीले अध्ययनका लागि किताव कपी बोक्नु नपर्ने भएकाले नै ‘बुक फ्रि फ्राइडे’ भनिएको उनले भने ।
उनले थपे, ‘सामुदायिक विद्यालयहरु प्रति आम अभिभावकहरुको धारणा परिवर्तन र विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान, सिप प्रदान गर्नका लागि हामीले फेदीखोलाकै वडा मध्यमा पहिलो पटक यो कार्यक्रमको शुरुवात गरेका हौं । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सिप सिकाउँदै यसलाई आयआर्जनसँग जोड्न सकियोस् ।’
विद्यार्थीलाई पढ्दै कमाउँदै समेत गर्न सक्ने गरि सिप सिकाइने उनको भनाई छ । उनका अनुसार विद्यार्थीहरुलाई स्थानिय साधनश्रोतको प्रयोग गरि दुना–टपरी बनाउने, धुपबत्ती बनाउने, करेसाबारी गोडमेल, हाउस किपिङ लगायतका कलाहरु सिकाउने योजना रहेको उनले बताए ।
विद्यालयका प्रध्यानाध्यापक तारापती सुबेदीले आफ्नो विद्यालयबाट वडा कार्यालयले नयाँ कार्यक्रमको शुरुवात गरेकोमा खुशी व्यक्त गरे । विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न दैनिकी सञ्चालनमा आवश्यक पर्ने सिप सिकाउँदा उनीहरुको सिकाई क्षमता बढेर जाने बताए ।
उनले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयकी शिक्षिका पार्वती कार्कीले सहजीकरण गरेकी थिइन् ।
वडामा ४ वटा आधारभूत, २ वटा माध्यमिक, र २ वटा संस्थागत गरि ८ वटा विद्यालय छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।