जिएमसीले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउने


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ १२

गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउने भएको छ । पोखरा नयाबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७ रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो । भवनको शनिबार कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरे ।

अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष अर्यालले बताए । सो सञ्चालनका लागि ३ अर्बको लागतमा विशिष्टिकृत ७५० शैयाको अध्याधुनिक भवन बनाउन लागिएको उनको भनाई छ । कलेज भवन बनेपछि हाल पोखरा नयाबजारमा रहेको मेडिकल कलेज सोहि ठाउँमा स्थानान्तरण गरिने उनले बताए ।

त्यस्तै, छत्रेढुंगा नजिकैको अर्को जग्गामा शैक्षिक भवन बनाईने जनाइएको छ । सो जग्गामा २ अर्ब लागतमा १ लाख १४ हजार वर्ग फिटमा शैक्षिक भवन बनाईने उनको भनाई छ ।

अस्पतालले नया भवनमा सेवा शुरु भएपछि हाल पोखरा नयाबजारमा रहेको अस्पताल र मेडिकल कलेजलाई सिटी अस्पतालका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालका अध्यक्ष खुमाप्रसाद अर्यालले विरामीको चाप बढेसँगै पोखरेलीलाई थप सेवासहित विशिष्टिकृत सेवा दिनका लागि नया मेडिकल कलेज भवन र शैक्षिक भवन निर्माण गर्न लागेको बताए । उनले भने,‘गण्डकी मेडिकल कलेज जनताको आशा र भरोसाको केन्द्र बनेको छ । यसलाई थप विश्वासिलो र सुविधा सम्पन्न बनाउने प्रयास अन्तर्गत हामीले थप दुई भवन निर्माण गर्न लागेका हौं ।’

अस्पतालका प्रमुख कार्यकारी अधिकृत, प्राचार्य प्रा.डा.रवीन्द्रप्रसाद श्रेष्ठले अस्पतालले नया भवनमा क्यान्सर केन्द्रीत उपचार र मिर्गौला डायलाईसिस गर्न केन्द्रीत गर्ने बताए । यसका लागि अत्याधुनिक उपकरणहरु ल्याईने उनको भनाई छ ।

गण्डकी मेडिकल कलेजले ब्लड बैंक, १.५ टेस्लाको अत्याधुनिक एमआरआई, १६४ स्लाईसको सिटी स्क्यान, अत्याधुनिक प्रविधियुक्त क्याथ ल्यावसहित ह््रदयरोग केन्द्र कार्डियाक सेन्टरमार्फत मुटुका विरामीको उपचार गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।