पोखरा सर्वेश्वर–पराजुली मार्गका होलसेल व्यवसायीहरुको समर्थन प्रेम, लेखनाथ, यादव र टिकारामलाई


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ १७

पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुने चुनावमा आफ्ना सदस्यहरुलाई समर्थन जनाएका छन् । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले आफ्ना सदस्य भएका उम्मेदवारहरुलाई समर्थन जनाएको हो ।

पोखरा उद्योग वाणिज्य संघमा सर्वेश्वर व्यवसायी समितिका ४ जना उम्मेदवार छन् । समितिका सल्लाहकार तथा आजिवन सदस्य प्रेमप्रसाद सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी लेखनाथ सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी यादवप्रसाद पोख्रेल र आजिवन सदस्य तथा शुभचिन्तक टिकाराम सुवेदी (माधव) संघको चुनावमा उम्मेदवार बनेका हुन् । संघको चुनावमा उम्मेदवार बनेका चारै जनालाई आफूहरुको समर्थन रहेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले बताए । ‘हामीले हाम्रा सदस्य तथा सल्लाहकार ज्यूहरुलाई समर्थन गरेका छौं । उहाँहरुलाई हामी सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुले एक मत भएर भोट हाल्छौं ।’ समितिले आफ्ना सदस्य तथा सल्लाहकारहरुलाई एक मतले भोट हाल्ने निर्णय गर्दै सम्पूर्ण सर्वेश्वर पराजुली मार्गका व्यवसायीहरुलाई अपिल गरेको छ ।

सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समिति महासचिव विशाल अधिकारीले जानकारी दिए ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।

समितिले सर्वेश्वर–पराजुली मार्गमा व्यवसाय ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रमसमेत आयोजना गर्दैछ । समितिले एक महिनासम्म दसैँ उत्सव गर्न लागेको हो । सो बेला सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकिझकाउ बनाउने, झिलीमिली बत्ती बालेर दुलहीझैँ सिंगारिने समितिले जनाएको छ । त्यस्तै दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिने, सामान खरिदमा कुपन दिइने र चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए । बम्पर उपहारमा स्कुटर, ल्यापटप, साइकल, मोबाइल र ४ जनालाई ५/५ हजार सान्त्वना स्वरूप दिईने उनले जानकारी दिने भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।