पोखरामा पर्यटन मन्त्रीहरूको भेला


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८१ मा प्रकाशित




गण्डकी । पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज साँझसम्म पोखरा आईपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नुहुने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।