तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ ।
पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए । “हालसम्म २० वटा विद्युत्का खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ”, उनले भने, “अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ ।”
भानु–४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छभने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युत्का खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ ।
व्यास नगरपालिका–१२ घाँसीकुवा, कमलबारीमा र व्यास–१ कराङकाठस्थित दमौली बसपार्क नजिकै रहेको बुल्दी खोला छेउमा तीन खम्बा ढालेर क्षति बनाएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको केन्द्रका इञ्जिनियर रेग्मीले जानकारी दिए ।
“विद्युत् लाइन अवरुद्ध नभएका, भिरालो जमिन चर्किएर पहिरो खस्ने अवस्थामा रहेका र खम्बा ढल्किएका धेरै छन्”, उनले भने, “पहिलो प्राथामिकता विद्युत् अवरोध भएका स्थानलाई दिएर काम गरिरहेका छौँ ।”
बन्दीपुर–६ को समस्तीपुर र मास्दीघाट क्षेत्रका अधिकांश स्थानमा विद्युत्का खम्बा ढलेका इञ्जिनियर रेग्मीले बताए। सो क्षेत्रमा मर्मत कार्य बाँकी छ । बन्दीपुर–६ साराङको सबस्टेशनको खम्बा ढलेर क्षति हुँदा करिब तीन हजार बासिन्दा प्रभावित भएका छन् ।
उक्त सबस्टेशनबाट जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाका केही वडाका बासिन्दाले विद्युत् प्रयोग गर्दै आएका छन् । लमजुङको सोती बजार ‘फिडर’ र थर्पु बजार क्षेत्रमा भने क्षति कम भएको जानकारी प्राप्त भएको तनहुँ वितरण केन्द्रले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







