गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

- प्रदेशमा भएको क्षती मूल्याङ्कन गर्न समिति गठन


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।

‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामीसबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने । यस अघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

साथै प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।

यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा। प्रेरणा सेढाईको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप सचिव प्रविण ढकाल सदस्य रहनेगरी समिति गठन गरिएको हो ।

समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतीको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।