चाँडपर्वको मुखमा पोखरा–१ मा वडाको अनुगमन


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित




पोखरा, असोज २२

पोखरा महानगरपालिका वडा नम्बर–१ ले चाँडपर्वको मुखमा वडा भित्रका मासुजन्य तथा खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ । चाँडपर्वको अवसरमा मूल्य बृद्धि गर्ने, म्याद गुज्रेका तथा अखाद्य वस्तुको मिसावट गरी बेच्ने, कृतिम अभाव सिर्जना गर्ने लगायतका कार्यहरु नियन्त्रण गर्ने उद्देश्यले वडाध्यक्ष सहारा प्रधान नेतृत्वको अनुगमन टोलीले मासुजन्य तथा खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले २४ वटा मासु पसल तथा ४ वटा खाद्यान्न पसलको अनुगमन गरेको वडाध्यक्ष सहारा प्रधानले जानकारी दिए । सो क्रममा ६ वटा मासु पसलहरु दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको पाइएको उनले बताए । त्यस्तै केहि पसलहरुमा म्याद नाघेका अचारजन्य सामग्री भेटिएकाले सोलाई जफत गरी नष्ट गरिएको वडाध्यक्ष प्रधानले जानकारी दिए । त्यस्तै, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका मासु पसलहरुलाई भने सचेत गराएर दर्ता तथा नवीकरणका लागि वडा कार्यालयमा आउन निर्देशन दिइएको उनले बताए ।

अनुगमनमा वडाध्यक्ष प्रधानसहित वडा सदस्य शोभा गुरुङ, , वडा सचिव पोष्टनारायण ढकाल, समाजसेवी रोजी पराजुली, नागरिक समाजका प्रतिनिधि रामप्रसाद अधिकारी, प्रहरी प्रतिनिधि विपन थापा, जुमकाजी गुरुङ, जुकमाया दमाई, रामजीप्रसाद पौडेल, पोखरा महानगरपालिका पशु सेवा शाखाका विज्ञ डा.पवन पाण्डे, डा.अशेषराज विक, राष्ट्रिय उपभोक्ता मञ्चका हुमनाथ अधिकारी, नगर प्रहरी राजु परियार र वडाका कर्मचारी रञ्जीता रानाभाटमा सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।