पोखरामा च्याङ्ग्रा सकियो, सस्तिएला र किनौंला भनेर पुगेका उपभोक्ता रित्तै फर्किन बाध्य


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८१ मा प्रकाशित




पोखरा, असोज २५

पोखरा–२७ भण्डारढीकका हेमराज आचार्य र उनका साथी बडादशैंको नवौं दिन अर्थात महानवमीका दिन शुक्रबार च्याङ्ग्रा लिन पोखराको हरिचोक पुगे । अघिल्ला वर्षहरुमाजस्तै यस वर्षपनि शुरुमा महङ्गो र नवमीदेखि सस्तो हुने आशामा उनीहरु यस दिन च्याङ्ग्रा लिन महानवमीको दिन हरिचोक पुगेका हुन् । तर उनीहरुले त्यहाँ च्याङ्ग्रा देखेनन् । त्यसपछि च्याङ्ग्रा खोज्दै सिमपानी, याम्दीहुँदै हेमजा मिलनचोकसम्मै पुगे तर कतैपनि च्याङ्ग्रा भेटेनन् । च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किदै गरेका उनले भने,‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन । यसपटक धोका खाइयो ।’

पोखरा–२२ पुम्दीभुम्दीका भोजराज बरालपनि च्याङग्रा खोज्दै शुक्रबार च्याङ्ग्रा पाउने हरिचोक पुगे । तर त्यहाँ च्याङ्ग्रा नदेखेपछि उनीपनि भौतारिदै हेमजा मिलनचोकसम्मै पुगे तर उनलेपनि च्याङ्ग्रा पाएनन् र निराशहुँदै घर फर्किए । च्याङ्ग्रा खोज्दै याम्दी पुगेका बेला भेटिएका उनले भने,‘आज झन् सस्तो हुन्छ भनेर आएको च्याङ्ग्रा नै रहेनछ ।’ उनले अघिल्लो वर्षजस्तै नवमीका दिन सस्तो हुन्छ भनेर आएको तर च्याङ्ग्रा नै नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरे ।

माथिका प्रतिनिधि पात्र मात्र हुन् । त्यसरी फर्किने संख्या ठूलो छ । हुनपनि अघिल्ला वर्षहरुमा पोखरामा बडादशैंको अघिल्लो दिन अर्थात नवरात्रको नवमीका दिन च्याङ्ग्रा किन्नेको भिडभाड हुन्थ्यो । उक्त दिन पोखरा–१ हरिचोकदेखि पोखरा–२५ याम्दीहुँदै सापकोटा चोकसम्मै च्याङ्ग्रा किन्नेको भीड हुन्थ्यो । नवमी भन्दा अगाडि च्याङ्ग्रा महङ्गो हुने भएकाले उपभोक्ताहरु च्याङ्ग्रा सस्तो हुने आशामा नवमीसम्म कुर्थे ।

महङ्गो भन्दै च्याङ्ग्रा नकिनी उपभोक्ताहरु फर्किएपछि ग्राहकको पर्खाईमा नवमीसम्मै बस्थे । अष्टमीसम्म नबिकेपछि बिक्रेताहरुलेपनि नवमीका दिन च्याङ्ग्राको मूल्य ह्वात्तै घटाउँथे । च्याङ्ग्राको मूल्य घटेको हल्ला चलेपछि उपभोक्ताहरु लाम लागेर च्याङ्ग्रा खरिद गर्न पुग्थे ।

तर यसपटक भने अघिल्ला वर्षहरुमा भन्दा ठ्याक्कै उल्टो भएको छ । शुरुदेखि नै च्याङ्ग्रा बिक्री हुँदा नवमीका दिन पोखरामा च्याङ्ग्रा सकिएको छ । च्याङ्ग्राको अभावमा नवमीका दिन सस्तो हुने आशामा च्याङ्ग्रा खरिद पुगेका उपभोक्ताहरु च्याङ्ग्रा नपाएपछि हिस्सिएर निराशहुँदै फर्किनुपरेको छ । त्यतिमात्र होईन मूल्यपनि अघिल्ला वर्षहरुमा भन्दा यस पटक अष्टमी र नवमीका दिन बढेको छ । अघिल्ला वर्षहरुमा शुरुमा महङ्गो र नवमीदेखि सस्तो हुनेगरेको च्याङ्ग्राको मूल्य यसपटक शुरुमा सस्तो र अष्टमीदेखि महङ्गो भएको छ ।

हरिचोक प्रहरी विटका हवल्दार राजु बुढाथोकीले यस वर्ष अष्टमीदेखि नै च्याङ्ग्रा सकिएको बताए । अष्टमी बेलुकासम्म च्याङ्ग्रा लगभग सकिएको थियो,उनले भने,‘आज नवमीका दिन विहान त्यस्तै २०–२५ वटामात्र थियो । त्योपनि एकाविहानै ग्राहकको भीड लाग्दा सकियो ।’ च्याङ्ग्राको मूल्यपनि सप्तमीपछि बढेको उनको भनाई छ । अष्टमी विहानसम्म २५–३० हजारमा बिक्री हुँदै थियो,उनले थपे,‘तर नवमी विहानसम्म आईपुग्दा ३५–४० हजारमा बिक्री भयो ।’ यसपटक सस्तो भएकाले चाँडै सकिएको उनले बताए ।

पोखरामा यसपटक करीब ९ हजार च्याङ्ग्रा भित्रिएको थियो । कर नतिरी लुकीछिपी गरेर थप ३ हजार च्याङ्ग्रा गरेर कुल १२ हजार च्याङ्ग्रा भित्रिएको अनुमान गरिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।