जनकपुरधाको दसैँ बजारमा तीन करोडको कारोबार


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८१ मा प्रकाशित




असोज २८ महेन्द्रनगर । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्तो बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, “यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।” उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताए । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।