असोज ३० काठमाण्डौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।
‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल सहकार्यका लागि आज आयोजित समारोहमा उनले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताए ।
उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिए । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आइटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ”, उनले भने ।
उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृष्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गरे । साथै उनले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याए ।
“नेपालको मिडिया उद्योगले पनि डिजिटल प्रविधिलाई अँगालेका छन् । कैयौँ अनलाइन समाचार पोर्टल पाठकमाझ लोकप्रिय भइसकेका छन”, उनले भने, “डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तर पत्रकारिताका लागि पनि ध्यान दिन आवश्यक छ ।”
सरकारले आमसञ्चारलाई स्वस्थ्य, स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति लिएको उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । उनले त्यसका लागि आमसञ्चार माध्यमको महत्त्व र भूमिका एवं योगदानको अपेक्षा रहेको उल्लेख गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





