पोखरा, कात्तिक ७
पोखराका सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् । पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले आज विज्ञप्ती जारी गर्दै रास्वपाले आफूहरुको मुद्धा बोकेजस्तो र नारा लगाएजस्तो गरेर पीडितहरुमा भ्रमित गर्ने काम गरेको आरोप लगाएको हो ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउन आएका रास्वपा कार्यकर्ताले सहकारी बचत पीडितहरुलाई भड्काउने गरी गतिविधि गरिरहेको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको छ । रास्वपा कार्यकर्ताले पीडितहरुको घर÷घरमा पुगेर धम्काउने, थर्काउने तथा लखेट्ने र पिट्नेसमेत गरेको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति संयोजक किरण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ,‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ ।’
सहकारी बचत पीडितहरुले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको रास्वपाको प्रदर्शन तत्काल रोक्न माग गरेको छ । रास्वपा सरकारमा रहँदासमेत आफूहरुको माग पूरा गर्न गम्भीर नभएको जनाउँदै विज्ञप्तीमा भनिएको छ,‘तर आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा घाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ ।’
सहकारी बचत पीडितहरुले जनताको अर्बौं रुपैयाँ डुबेको गम्भीर विषयमा रास्वपाले राजनीति भइरहेको भन्दै आपत्ति जनाएको छ । सामाजिक र आर्थिक विषयमा राजनीति हुनु दुःखद भएको जनाउँदै विज्ञप्तीमा भनिएको छ,‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ? त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’
सहकारी बचत पीडितहरुले रास्वपाको भ्रम चिर्न विहीबार प्रदर्शन गर्ने जनाएको छ । पीडितहरुले विहीबार ११ बजे पोखराको मुस्ताङचोकमा बचत फिर्ताको माग गर्दै बृहद प्रदर्शन गर्ने जनाएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





