पोखरा, कात्तिक १०
एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफण्ट गण्डकी, सिटिजन फर्निचर, पन्चरत्न आभुषण, टिम महादेव, भान्जा ग्रुप, कुमुदिनी होम्स, डिजिटल साउण्ड एण्ड भिजन, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।
एभरेस्ट एफएमको प्राङ्गणमा विहान ७ः३० बजेदेखि “…. अभावको बेला नगरे, कहिले गर्ने ?” भन्ने मूलमन्त्रका साथ आयोजित रक्तदान कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा सिचाई मन्त्री फणिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।
विभिन्न चाडपर्व र डेंगुका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री फणिन्द्र देवकोटाले खेर जाने रगत दान गरेर मृत्यूसँग लडिरहेका विरामीको ज्यान बचाउन सकिने भएकाले योग्य व्यक्तिले समय समयमा रक्तदान गरिरहनुपर्ने बताए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एफएमको जीवन बचाउने अभियानमा आफू सँधै सहभागी हुँदै आएको र यसपटकपनि त्यसलाई निरन्तरता दिएको बताए ।
एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले नियमित रक्तदान गरेर आफूपनि स्वस्थ बन्ने र अरुकोपनि ज्यान बचाउन सकिने बताए ।



रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोग, फिस्टेल नर्सिड.क्याम्पसको स्वास्थ्य जनशक्ति रहेको रक्तदान कार्यक्रममा हिमालयन एभरेष्ट ईन्स्योरेन्स, सिटिजन फर्निचर ट्रेड लिंक प्रालि, आस्था किड्नी एण्ड स्पेसलाईज्ड हस्पिटल, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, एस.एण्ड.बी.ट्रेडर्स, मेमोरी बेकरी एण्ड क्याफे, बाराही फुड्स, आगन तथा बाराही स्वीट्स, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रालि, बेम्बो क्याटरिंग, पन्चरत्न आभुषण र पिउरो ड्रिंकिङ वाटरले सहकार्य गरेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







