सहकारी बचत पीडितको गुनासो : रास्वपाले सहकारी बचत पीडितको पक्षमा उभिनुको सट्टा उल्टै बदनाम गर्यो


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक २३

पुरानालाई ‘नो नट अगेन’ भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय एकपछि अर्को नाममा बदनाम भइरहेको छ । अझ सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा पक्राउ परेपछि त झनै आलोचनामा फसेको छ रास्वपा । सहकारी पीडितको न्यायको पक्षमा उभिएको भन्दै बेलाबेला उनीहरुको पक्षमा नारापनि लगाउँछ । तर सहकारी पीडितको नाम भजाउँदै तिनै पीडितको बदनाम गरिरहेको आरोप लागेको छ ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले सहकारी पीडितको बदनाम गरिरहेको आरोप लगाएको हो । समितिका संयोजक किरण श्रेष्ठले रास्वपा र त्यसका सभापती रवि लामिछानेका समर्थकहरुले सहकारी बचत पीडितको मानमर्दन गर्ने, फुटाउने, नेतृत्वप्रति लाञ्छना लगाउने काम गरिहेको आरोप लगाए । पार्टी पंक्ति नै लागेर सामाजिक सञ्जालमा हाम्रो बदनाम गर्ने कोशिष भइरहेको छ,उनले भने,‘कहिले नक्कली सहकारी बचत पीडित भन्ने, कहिले संयोजक श्रेष्ठले आफ्नो पैसा लेनदेनमार्फत फिर्ता लिइसकेको भन्ने, कहिले आन्दोलनका लागि भन्दै पैसा उठाएर संयोजक श्रेष्ठ भट्टीमा पसेको भन्ने त कहिले सत्तारुढ पार्टी कांग्रेस, एमालेसँग जोडेर प्रचार गरिएको छ ।’ उनले संघर्ष समिति र आफूमाथि लगाइएको सबै आरोपहरु झुठा र कपोलकिल्पत रहेको दाबी गरे । आफूमात्र होईन सूर्यदर्शन सहकारीका कसैलेपनि २०८० साल साउनपछि एक रुपैयाँपनि फिर्ता नपाएको दाबी गर्दै उनले भने,‘अरुले जस्तै मैलेपनि पैसा फिर्ता पाएको छैन । जतिपनि आरोप लगाइएको छ ति सबै भ्रम छर्न कपोलकल्पित बनाइएको हो ।’

संयोजक श्रेष्ठले संघर्ष समितिको नाममा पैसा उठाएर एक रुपैयाँपनि आफूले व्यक्तिगत रुपमा खर्च नगरेको जिकीर गरे । बरु उल्टै मैले आन्दोलनका लागि खर्च गरेको छु,उनले भने,‘जतिपनि पैसा उठाइएको छ, त्यो बचत फिर्ताका लागि गरिएका प्रयासमा खर्चिएका छौं । कति रकम कानूनी लडाईं लड्दा वकीललाई दिनका लागिपनि खर्च भएको छ ।’ उनले आफूहरुलाई पार्टीको कार्यकर्ता भएको आरोपकोपनि उनले खण्डन गरे । आफूहरु बचत फिर्ताका लागि मात्रै संघर्ष समिति बनाएर आन्दोलनमा गएको स्पष्ट पार्दै उनले भने,‘हामीलाई नेता बन्नुपनि छैन । कुनै पार्टी र त्यसका नेतालाई उचाल्ने र पछार्ने गर्नुपनि छैन । हाम्रो एउटै उद्देश्य भनेको जसरी हुन्छ हाम्रो अपचलन भएको बचत रकम फिर्ता गर्नु हो ।’

संयोजक श्रेष्ठले आफूहरुलाई लगाइएको झूठा आरोपबिरुद्ध कानूनी लडाईं लड्नेपनि बताए । त्यसका लागि आफूले साईबर अपराधमा उजुरी दिइसकेको उनले जानकारी दिए । साईबर अपराधमा कास्की प्रहरीले एक्सन नलिए साईबर ब्यूरोमासमेत जाने उनले चेतावनी दिए । प्रमाण छ भने देखाओस्,उनले भने,‘होईन भने साईबर अपराधमा उनीहरुमाथि कारवाही होस् ।’

समितिका सचिव दुर्गाराज न्यौपानेलेपनि रास्वपाले सहकारी बचत पीडितलाई सहयोग गर्नुको सट्टा आक्रमण गरिरहेको भन्दै सो कार्यको भत्र्सना गरे । कहिले कांग्रेसको झोले भन्ने, कहिले एमालेको झोले भन्ने त कहिले नक्कली पीडित भनेर हामीलाई अनावश्यक टर्चर रास्वपा र तिनका कार्यकर्ताले दिइरहेका छन्,उनले भने,‘अध्यक्षलगायत हामी नेतृत्वमाथि लगाइएको सम्पूर्ण आरोपहरु झूठा हुन् । पीडित पीडितबीच लडाउने, फाटो ल्याउने प्रयास रास्वपाबाट भइरहेको छ । यस्ता भ्रामक समाचारको हामी खण्डन गर्न चाहन्छौं ।’

यसैबीच, सहकारी बचत पीडित संघर्ष तथा तदर्थ समितिले सरकारलेपनि सहकारी बचत पीडितहरुको बचत रकम फिर्ता दिनेबारे चासो नदिएको आरोप लगाएको छ । मान्छे पक्राउ गरेर प्रतिशोध साँध्ने र बार्गेनिङ गर्नेतर्फ लागेको हो कि भन्ने आशंका आफूहरुलाईपनि लागेको भन्दै संयोजक श्रेष्ठले भने,‘न सरकार, न पार्टीहरु नै बचतकर्ताको बचत रकम फिर्ता गर्नेतर्फ लागेका छन् ।’ उनले सरकारले चाहेमा जिवीलाई भोलि नै समातेर ल्याउनसक्छ तर त्यसतर्फ ध्यान नै नदिएको बताए ।

सहकारी बचत पीडित दीपेन्द्र राईले सहकारी बचत पीडितको विषयलाई विषयान्तर गरेर सभापती रवि लामिछाने बचाउने उद्देश्यले रास्वपाले यस्ता लाञ्छनाहरु लगाइरहेको बताए । बचत रकम फिर्तातर्फ सरकारले ध्यान दिनुपर्ने भएपनि त्यसतर्फ कसैलेपनि ध्यान नदिदा आफूहरुलाई पीडामाथि पीडा थपिएको उनले गुनासो गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।