रुपन्देहीमा ३ दिन राखेर रविलाई फर्काइयो पोखरा


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ३०

सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुनः कास्कीको पोखरा नै फर्काइएको छ । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । पोखरामा अनुसन्धान भइरहँदा रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत सोहि मिडियामा लगेर अपचलन गरेको भन्दै उनीबिरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई कात्तिक २६ गते रुपन्देही लगिएको थियो । उनलाई त्यहाँ ३ दिन राखेर शुक्रबार अपराह्न पुनः पोखरा फर्काइएको हो ।

रुपन्देहीमा रहँदा उनलाई साढे २३ घण्टा बयान लिइएको थियो । त्यस क्रममा ७४ वटा प्रश्न सोधिएको र सो प्रश्नको जवाफ दिएको रुपन्देही प्रहरीले जनाएको छ । जसमा रविले ईन्कारी बयान दिएकोपनि प्रहरी श्रोतले बताएको छ ।

रुपन्देहीबाट दिउँसो १ः३० बजेको फ्लाईटबाट पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएका उनलाई कडा सुरक्षा दिएर पोखरा–४ गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । रविलाई पोखरा फर्काइने तयारी भएपछि विहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तर जति नै सुरक्षा व्यवस्था कडा बनाइएपनि रविलाई जिप्रका लैजाने क्रममा रास्वपा र रविका समर्थकले निशेधित क्षेत्रमै प्रदर्शन गरेरै छाडे । रविलाई निशेधित क्षेत्र घोषणा गरिएको जिप्रका कास्कीको कार्यालय अगाडि पु¥याईंदा प्रदर्शन भएपछि प्रहरीलाई ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकांश पार्टीका कार्यकर्ता भएपनि केहि शुभचिन्तकपनि मात्र रहेको बताइएको छ ।

कास्की प्रहरीले निशेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरिएको जनाइएको छ । कास्की प्रशासनले रविलाई पोखरा ल्याएलगत्तैदेखि जिप्रका रहेको गैह्रापाटनको पालिखेचोकदेखि पोखरा–४ को वडा कार्यालयसम्म तथा कास्की जिल्ला अदालत रहेको वाईचोक, राष्ट्रबैंकचोक, लेकसाईडको अम्बोट र मालपोत कार्यालयसम्मको क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ । निशेधित क्षेत्र भनेपनि सो क्षेत्रमा निर्वाध आवतजावत गर्न दिईदै आएको छ तर रविलाई अदालत लैजाने र ल्याउने समयमा भने कडाई गर्ने गरिएको छ । त्यसबाहेकको समयमा प्रहरीपनि तैनाथी अवस्थामा नहुँदा निशेधित क्षेत्र हटेको हो कि कायम छ भन्नेमा सर्वसाधारण अलमलमा पर्ने गरेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको १ करोड उनकै नाममा लगेर पछि गोर्खा मिडियामा गाभेको तथा थप ५ करोड जिवी राईसँग मिलेर गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । त्यस्तै बुटवलमा भने सुप्रिम सहकारीको १ करोड ९६ लाख आफ्नै नाममा लगेर सोहि मिडियामा गाभ्नुका साथै थप १४ करोड २९ लाखपनि लगेर अपचलन गरेको आरोप छ । यी दुबै सहकारीका बचतकर्ताले कास्की र रुपन्देहीमा लामिछानेसहित गोर्खा मिडियाका सञ्चालकहरु जिवी राई, छविलाल जोशीलगायतबिरुद्ध जाहेरी दिएका छन् । उनीहरुलाई संसदको सहकारी छानविन समितिले सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

छानविन समितिको सिफारिसका आधारमा प्रहरीले लामिछानेसहितका गोर्खा मिडियाका सञ्चालकहरुबिरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पती शुद्धिकरसम्बन्धि मुद्धामा अनुसन्धान जारी राखेको छ । उनलाई कात्तिक २५ गते अदालतमा उपस्थित गराएर १३ दिनको म्यादसमेत थप गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।