पोखरामा कर सप्ताह जारी, आईतबार पहिलो सेवाग्राहीलाई सम्मान


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर २

पोखरामा कर सप्ताह जारी छ । आन्तरिक राजश्व कार्यालयको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ शनिबारदेखि शुरु भएको कर सप्ताह आईतबार दोश्रो दिनपनि जारी रह्यो । जस अन्तर्गत आईतबार आन्तरिक राजश्व कार्यालय पोखराले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयले आईतबार सेवा लिन पुगेका पहिलो सेवाग्राही यमबहादुर हमाललाई सम्मान गरेको हो । हमाल पोखरा–४ गैह्रापाटनस्थित राधा खाजा घरका सञ्चालक हुन् ।

खाजा घरको स्थायी लेखा दर्ता नम्बरको प्रमाण पत्र लिन आन्तरिक राजश्व कार्यालय पोखरा पुगेका हमाललाई कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले खादा र माला लगाएर सम्मान गरेका थिए ।

कर सप्ताहको पहिलो दिन पोखरामा प्रभातफेरी निकालिएको थियो । कर सप्ताह अन्तर्गत कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी सचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका कार्यक्रम हप्ताभरी नै गर्दैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।