शुद्ध खानेपानी पिउने पोखरेलीको सपना पूरा, अब सिधै धाराबाटै पानी पिउन सकिने


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर १४

पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो । आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको शुक्रबार नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे । उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ ।

आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन भएपनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान भएका धारामा शुद्ध खानेपानी भने आईहाल्दैन । त्यसका लागि करीब एक हप्ता कुर्नुपर्ने बताइएको छ । केहि संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्याङ्कीहरु सफा गर्न समय लाग्ने भएकाले घरको धारामा शुद्ध खानेपानी ३ दिनदेखि एक हप्तासम्ममा मात्रै आईपुग्ने कर्मचारीहरु बताउँछन् । त्यसपश्चात भने पोखरेलीले धाराको पानी सिधै पिउन सक्नेछन् । किनकी पानीको शुद्धिकरण गरेर पठाईने भएकाले पहिलेजस्तो धमिलो हुनेछैन भने व्याक्टेरियापनि निर्मलीकरण गरेर पठाईनेछ ।

जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा शुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो । आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्यकी ९३० घनमिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ ।

त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०÷२० लाख लिटर क्षमताका १÷१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोहि क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिएपनि बनाउन बाधा पुगेको छ । त्यहाँ ट्याङ्कीको उचाई बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो । अब त्यसलाई पुर्ननिर्माण गर्ने कि उचाई घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ ।

यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ ।

यो आयोजनापश्चात अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ ।

आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने,‘आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीले अबदेखि धमिलो पानी पिउन नपर्ने बताए । उनले भने,‘हिलो मिसिएको धमिलो पानी अब पोखरामा आउँदैन । अब सिधै धाराबाट पिउन मिल्ने पानी आउँछ ।’ तर आयोजना सञ्चालन गर्ने दक्ष कर्मचारी खानेपानी संस्थानसँग हुनुपर्ने बताए । नभए त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।