तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८१ मा प्रकाशित




तनहुँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा रु १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु ६० हजार नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु दुई लाख ४० हजारको नोक्सान भएको छ ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।