बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८१ मा प्रकाशित




पुस ३ काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उनले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताए ।

बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी सहयोगको अपेक्षा गरेका हुन् ।

स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार कतारी राजदूतले नेपालसँगको सम्बन्ध विस्तारलाई आफ्नो मुलुकले प्राथमिकतामा राखेको बताउँदै पारस्परिक सहयोगका क्षेत्र बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।