पोखरा, पुस ५
पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाबिरुद्ध शुक्रबार पुरक अभियोजन दर्ता भएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी)सहित १९ जनाबिरुद्ध कास्की जिल्ला अदालतमा पुरक अभियोजन दर्ता गरेको हो । पुरक अभियोजन दर्ता भएकाहरु पक्राउ पुर्जी जारी भई पक्राउ परेका र फरार अभियुक्तहरु छन् ।
कास्की जिल्ला सरकारी वकीलको कार्यालयले पहिलो चरणमा १९ जनाबिरुद्ध पुरक अभियोजन दर्ता भएको जनाएको छ । बाँकीबिरुद्ध आईतबार मुद्धा दर्ता हुने कास्की जिल्ला सरकारी वकील कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिईन् । पहिलो चरणमा अभियोजन दर्ता भएकामध्ये सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत छन् । उनीहरुबिरुद्ध गत साल २४ भदौमा पक्राउ पुर्जी जारी भई पक्राउ परिसकेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।
त्यसबाहेक उक्त सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाजु भूपेन्द्र राई, व्यवस्थापकसमेत रहेका तत्कालीन अध्यक्ष थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, श्रृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ फरार छन् । उनीहरुबिरुद्ध बचतकर्ताहरुले सामुहिक उजुरी दिएपछि पहिलो चरणमा पक्राउ पुर्जी जारी भएको थियो । पुरक अभियोजन दर्ता भएकामध्ये जिवीबिरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पती शुद्धिकरणसहित राष्ट्रबैंक कसुर थप गरिएको छ । अन्य दुई जनाबिरुद्ध भने संगठित अपराध मात्रै थप गरिएको अदालत श्रोतले जनाएको छ । उनले अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा अभियोजन गरिएको बताईन् । उनले भनिन्,‘अनुसन्धानमा भेटिएका प्रमाण र पुष्टि भएका कसुर अनुसार मुद्धा दर्ता गरेका छौं ।’
दोश्रो चरणमा भने जिवीका साझेदार गोर्खा मिडिया नेटवर्कका सञ्चालक÷प्रबन्ध निर्देशक रवि लामिछाने, छविलाल जोशी, उनीहरुका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई तथा सो सहकारीका सञ्चालक कृष्ण गुरुङबिरुद्ध बचतकर्ताहरुले उजुरी दिएका थिए ।
बचतकर्ताहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ नगरिएपछि आन्दोलनसमेत गरेका थिए । त्यहि बिचमा संसदमा रबिलगायतले गरेको सहकारी ठगीको छानविन गर्नुपर्ने आवाज उठेपछि प्रतिनिधि सभा सदस्य सूर्य थापाको संयोजकत्वमा सहकारी छानविन समिति बन्यो । सो समितिले रविसहितले सहकारी ठगी गरेको औंल्याउँदै कारवाहीको दायरामा ल्याउन भनेपछि सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेको थियो । दोश्रो चरणमा पक्राउ परेका उनीहरुबिरुद्ध आईतबार मुद्धा दर्ता हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिईन् ।
पहिलो मुद्दामा उक्त सहकारीका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको प्रहरीको दाबी छ । तर अहिले पुरक अभियोजन गर्दा १ अर्ब ५१ करोड ४ लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुबिरुद्ध ८ देखि १० वर्ष कैद र बिगो बराबरको जरिवाना गर्न माग गरिएको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा सहकारीका संस्थापक जिवी राई समूहले सहकारी खोलेलगत्तैदेखि रकम अपचलन गर्न थालेको उल्लेख छ । सो समूहले नक्कली सेयर सदस्य बनाउने, विभिन्न कम्पनी खडा गरेर पैसा लैजाने, सहकारीको नाममा सम्पती नराखी व्यक्तिको नाममा राख्ने, व्यक्तिको नाममा लगेको रकमपनि कम्पनीको नाममा ट्रान्सफर गर्ने, सहकारीको नियम पालना नगरी, कागजात पूरा नगरी रकम निकासा गर्ने, घर, जग्गा खरिद गर्नेलगायतका कामहरु गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







