सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग


     एभरेस्ट आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित




पुष ७ पोखरा । पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो ।

स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गरिन् । उनले पार्क निर्माण कार्यको शिलन्यास पनि गरिन् । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण समेत गरिएको छ ।

समारोहमा बोल्दै स्व.केसीका सुपुत्र किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उनको सपना साकार पार्न परिवारले उक्त सहयोग उपलब्ध गराएको बताए । ‘उहाँ उच्च सम्मान गर्नुपर्ने व्यक्ति हुनुहुन्थ्यो, समाज रुपान्तरणमा केहि गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो, उहाँको त्यहि विचारलाई सम्मान गरेका हौं ।’ केसीले भने । बुवाले दिएको संस्कार पछ्याउँदै खेलकुद, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतमा केसी परिवारले सहयोग प्रदान गर्दै आएको उनले बताए ।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्रा.डा.नारायण प्रसाद अधिकारीले केसी परिवारको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । वडा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्व.केसीले समाज सेवामा पुर्याएको योगदानको चर्चा गर्दै दाता केसी परिवारप्रति आभार प्रकट गरे ।

त्यसैगरि समारोहका प्रमुख अतिथि प्रेमकुमारी केसी, विशेष अतिथि किरण केसी, उनका श्रीमति बन्दना कार्की केसी, नेपाल भारत मैत्री सम्बन्ध विज्ञ नविता श्रीकान्त लगायतले मितेरी टोलका गतिविधी समेटेर तयार पारिएको पुस्तक मितेरी गतिविधीको विमोचन गरे ।

संस्थाका अध्यक्ष मनमाया गुरुङ्गको सभाध्यक्षमा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरे वापत कोषाध्यक्ष याम प्रसाद गुरुङ्गलाई विशेष सम्मान प्रदान गरियो ।

सोही समारोहमा पोमनपा कार्यपालिका सदस्य तथा वडा १५ का सदस्य मन्दिर परियारले नयाँ अफिसको उद्घाटन गरे । समितिका सचिव हरीप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिभा टोल विकास संस्था शुभकामना लिला बहादुर थापा, समाजसेवी गंगाबहादुर खड्का, वडा १५ का सदस्य बलराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।