सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८१ मा प्रकाशित




पोखरा ।

पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पवन प्रजापतिलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन गरेको टेलिभिजनकी प्रबन्ध निर्देशक अनिसा श्रेष्ठले जानकारी दिईन् । उनका अनुसार सदस्यहरुमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोषकुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा चयन भएका छन् ।

यस अगाडि अधिवेशनको उद्‌घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापना कालिन लक्ष्य अनुसारै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे । अध्यक्ष प्रजापतिले अबको कार्यसमितिले वजारको अवस्थालाई ध्यान दिदैँ टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे ।

कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् ।

साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो । कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन् । २०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ । देशैभरका सबै डिजिटल सेवा प्रदायक नेटवर्कबाट प्रसारित टेलिभिजन बिहान ५ वजे देखी राती ११ बजे सम्म नियमित प्रसारण भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।