चौरासी पूजा गर्ने खर्चले लेखनाथका बृद्ध दम्पतीद्वारा क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     पौष ९ गते २०८१ मा प्रकाशित




पोखरा, पुस ९

चौरासी वर्ष प्रवेशको अवसरमा एक बृद्ध दम्पतीले लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा–२६ निवासी मित्रनाथ न्यौपाने र उनकी श्रीमती अतिमाया न्यौपानेले आफूहरु चौरासी वर्ष पुगेको अवसर पारेर लेखनाथस्थित सो क्याम्पसमा अक्षयकोष स्थापना गरेका हुन् । पोखरा–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यौपाने दम्पतीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष खगेन्द्रराज आचार्य र क्याम्पसका प्राचार्य हेमराज आचार्यलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

चौरासी पूजा गरेर तुलादान र भोजभतेरमा समय र पैसा खर्च गर्नुभन्दा सामाजिक कार्य गर्नु बेस लागेर आफूहरुले अक्षयकोष स्थापना गरेको उनीहरुको भनाई छ । अक्षयकोषबाट प्राप्त ब्याजले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने क्याम्पसका प्राचार्य हेमराज आचार्यले जानकारी दिए ।

नेउपाने दम्पतीका छोराहरु रमेश न्यौपाने र नवराज न्यौपानेले बुबाआमाको चौरासी वर्ष प्रवेशको अवसरमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।