
तस्बीरः गुगलबाट
पुस ९ काठमाण्डौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गरे ।
सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताए । केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न छ टोलीको सहभागिता रहने जानकारी दिए ।
उक्त प्रतियोगिताकोे सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै सात वर्षका लागि सम्झौता भएको थियो ।
कार्यक्रममा श्रीलङ्कामा आयोजना भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई सम्मानसमेत गरिएको छ । श्रीलङ्कामा पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।