पोखराको विश्व शान्ति स्तुपा क्षेत्रका होटल, रेष्टुरेण्ट राती ९ बजेसम्म खुल्न थाले


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८१ मा प्रकाशित




पोखरा, माघ ६

पोखराको पर्यटकीय गन्तव्य मध्येको एक विश्व शान्ति स्तुपा क्षेत्रका होटल रेष्टुरेण्ट राती ९ बजेसम्म खुल्न थालेका छन् । पोखरा–२२ पुम्दीभुम्दीस्थित शान्ति स्तुपा (बौद्ध गुम्बा) क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु अबदेखि राती ९ बजेसम्म खुल्न थालेका हुन् ।

पोखराबाट नजिकै भएपनि यसअघि त्यस क्षेत्रका होटल, रेष्टुरेण्टहरु साँझ नपर्दै बन्द हुने गरेका थिए । सुरक्षा व्यवस्था नहुँदा व्यवसायीले होटल, रेष्टुरेण्ट यसअघि खोल्ने वातावरण नबन्दा खोल्न चाहेरपनि साँझ ६ नबज्दै बन्द गर्नुपर्ने बाध्यता रहेको स्थानिय व्यवसायी राजु क्षेत्रीले बताए । पोखराको दक्षिणी प्रवेश द्वार छोरेपाटनमै प्रहरी विट भएको तर त्यहाँबाट डेढ किलोमिटर टाढा मात्र रहेको अर्को पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपा क्षेत्रमा सुरक्षा नहुँदा व्यवसायीले जोखिम मोलेर व्यवसाय सञ्चालन नगरेको उनको भनाई छ । जसले गर्दा पर्यटकहरुले चाहेरपनि रातीसम्म बसेर रमाइलो गर्न पाएका थिएनन् । गुम्बामा आएकाहरुपनि साँझ परेपछि फर्किहाल्नुपर्ने बाध्यता थियो ।

विश्व शान्ति स्तुपा क्षेत्रबाट देखिने साँझको भ्यू

तर पछिल्लो समय सुरक्षा व्यवस्थाका विभिन्न उपायहरु अप्नाइएपछि राती ९ बजेसम्मै व्यवसाय सञ्चालन गर्न थालिएको क्षेत्रीले बताए । सुरक्षाका लागि टोल विकास संस्थामार्फत क्लोज सर्किट क्यामरा (सिसी क्यामरा) जडान गर्नेदेखि बिजुली वत्तीकोसमेत व्यवस्था गरेपछि रातीसम्मै व्यवसाय सञ्चालन गर्न सहज भएको उनको भनाई छ । त्यसबाहेक प्रहरीलेपनि सुरक्षाको प्रत्याभूति दिने आश्वासन दिएकाले व्यवसाय सञ्चालनमा सहज भएको उनले बताए । यसअघि सुरक्षा व्यवस्था कमजोर थियो, जसका कारण चाहेरपनि हामीले व्यवसाय खोल्न सकेका थिएनौं,उनले भने,‘तर अहिले सुरक्षाका न्यूनतम मापदण्ड पूरा भएपछि राती ९ बजेसम्म खोल्न थालेका छौं ।’

प्रहरीलाई छुट्टै विट राखेर सुरक्षा दिन माग गरेपनि तत्काल त्यो सम्भव नभएको बताएको छ । तर अन्य विकल्पहरुमार्फत सुरक्षाको ज्ञारेन्टी गर्ने भनेपछि हामी आश्वास्त भएर रातीसम्मै व्यवसाय गर्न तयार भयौं,उनले अगाडि थपे,‘प्रहरीको आवश्यक्ता परेको खण्डमा बोलावट भएको ८-१० मिनेटमै सुरक्षा दिन तयार रहेको प्रतिबद्धता जनाएका छन् । जसले गर्दा हामीपनि सेवा दिन शुरु गरेका छौं ।’ क्षेत्रीका अनुसार रातीसम्मै व्यवसाय सञ्चालन हुन थालेपछि पर्यटकहरुले राहत महशुष गरेका छन् । त्यसले व्यवसायमापनि टेवा पुगेको उनले बताए । साँझ नपर्दै फर्किने पर्यटकहरु राती अबेरसम्मै होटल रेष्टुरेण्ट खुलेपछि उनीहरुपनि रातीसम्मै बस्ने गर्छन् । जसले गर्दा उनीहरुले राहत महशुष गरेका छन्,उनले भने,‘यसले गर्दा पर्यटकलाई सेवा त हुने नै भयो, हाम्रो व्यवसायमापनि टेवा पुगेको छ ।’

शान्ति स्तुपा क्षेत्रमा रहेको एलिट क्याफे

पोखराको पर्यटकीय केन्द्रमध्येको एक विश्व शान्ति स्तुपा क्षेत्रबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखराको कोरसिटीबाट केहि उचाईमा रहेको र दुरीको हिसाबलेपनि नजिक रहेको यो क्षेत्रमा स्वच्छ हावासँगै फेवाताल र पोखरा बजारलाई नजिकबाट नियाल्नसमेत सकिन्छ । रानीवन क्षेत्रमा रहेको विश्व शान्ति स्तुपा (गुम्बा) बौद्धमार्गीका लागि पवित्र स्थल मात्र नभई पोखरा आएपछि छुटाउनै नहुने गन्तव्यका रुपमा परिचित छ । जापानको सहयोग र जापनिज मोडलमा गुम्बा बनेकाले विशेष गरेर चीनीया पर्यटक पोखरा आएपछि यहाँ पुगेकै हुन्छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।