
माघ १८ पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि, कहिलेकाहिँ उनीहरु नाचकै तालमा आफ्नो खुट्टा काँचको टुक्रा वा तरबारमासमेत राख्छन् ।
सामान्यतया : यो नाचको उपक्रममा महिलाहरु टाउकोमा घडा र खुट्टामा पित्तलको थाली राखेर अगाडि बढ्छन् । भवई नाचको रुपमा प्रख्यात यो नाचको पृष्ठभूमिमा पखावज (मादलजस्तै) ,ढोलक,सारङ्गी र हार्मोनियमको संगीत गुन्जन्छ । भवई नृत्यको नामले प्रख्यात यो नाचको उत्पत्ति गुजरातमा भएको मानिन्छ तर अहिले यो नाचलाई नजिकको राज्य राजस्थानको भवई समुदायको पहिचानको रुपमा हेरिन्छ ।
पोखराको प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ अन्तर्गत शुक्रबार राजस्थानका कलाकारहरुले मञ्चमा यो नृत्य पस्के । रंगिन पोशाकमा सजिएका कलाकार संगीताबाट प्रस्तुत भवईबाट पोखरेलीहरु मन्त्रमुग्ध बने । उनलाई ढोलकमा इलामद्दिन,मुर्चुङ्गामा सिकन्दर,हार्मोनियममा मेहबुब खान, मुजुरामा इकवाल, ढोलक र बपाङमा निजाम, सारङ्गीमा सफु खानले साथ थिए । यसका साथै गायकीमा इलामद्दिन,बुन्दु खान,कसम खान र मेहबुबको साथ थियो ।
त्यसका अलावा साथमै रहेका कलाकारद्वय ममता र मधुले दर्शकसामु कालबेलिया नृत्य प्रस्तुत गरे । कालबेलिया भारतको सीमान्तकृत समुदायमा गनिन्छ । उनीहरु सर्प समात्छन् र सर्पको विषको व्यापार गर्छन् । सर्पलाई पूज्नु र त्यस्तै नाच्नु यो जातिको विशेषता हो । यो समुदायलाई जोगिरा पनि भनिन्छ । कालबेलिया नृत्य अक्सर युगल हुन्छ र यसमा प्रेमका कथा भनिन्छ । यो शैलीका गीतहरु मुलधारका भारतीय सिनेमाहरुमा प्रयोग भएका छन् ।
नेपालस्थित भारतीय राजदूतावासको सदासयतामा मेलाको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा राजस्थानी लोकनृत्य प्रस्तुत गरेको हो । त्यसो त, यो सांस्कृतिक समूहले आफ्नो प्रस्तुतिको क्रममा ‘दमादम मस्त कलन्दर’ जस्तो कब्बाली पनि प्रस्तुत गरेको थियो । त्यो प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । बसिमले सो समूहको नेतृत्व गरेका थिए । यो सांस्कृतिक कार्यक्रम आयोजना गर्न नयाँदिल्लीस्थित भारतीय सांस्कृतिक सबन्ध परिषद्को सहयोग एवं स्वामी विवेकानन्द सांस्कृतिक केन्दको समन्वय रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।
यसअघि गण्डकीका वन तथा वातारणमन्त्री भेषबहादु पौडेलले सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले यस्ता साँस्कृतिक कार्यक्रमहरुको आयोजनाले नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुने तथा भाइचार बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पोखरास्थित भारतीय पेन्सन क्याम्पका लेफ्टीनेन्ट कर्णेल( प्रमुख सेनानी) प्रशान्त सिंह भंगेलले सुन्दर नगरी पोखरामा रंगिन पोशाक,पारम्परिक संगीत र आकर्षक नृत्यको लागि प्रख्यात राजस्थानको लोकनृत्य प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रमको निरन्तरताको प्रतिवद्धता पनि जनाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेलाको उपक्रममा राजस्थानको लोकनत्य प्रस्तुतिको अवसर जुटाइदिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठनन्दन,नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पूर्वअध्यक्ष बसन्त उदास,कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्साल,कास्की प्रहरीका डिएसपी वसन्त शर्मासहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
शुक्रबार नै कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी,रामजी पौडेल, मन्जु बिक,अमर धिताललगायतको सांस्कृतिक प्रस्तुति पनि मेलामा सामेल थियो भने शनिबार चोलेन्द्र पौडेल,तारापति सुवेदी,सन्तोष बस्याल,पूजा गुरुङलगायतको प्रस्तुति रहने छ । यस्तै मेलामा शनिबार भजन–चुड्का पनि प्रस्तुत गरिने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।
मेला प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार शनिबार मेलाको औपचारिक समापन हुनेछ । औपचाकिर समापन कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ । यस्तै उत्कृष्ट टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछ । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ । आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।