पोखरा, फागुन २
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार आयोजना हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ ।
नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ मस्र्याङ्दी क्लवपनि समान ६ पटक नै उपाधि बिजेता टिमहो । तर शनिबार उपाधि जितेमा पुलिसले सातौं पटकको उपाधि जित्ने पहिलो टिम बनेर ईतिहास रच्नेछ ।
अर्कोतर्फ पहिलो पटकको सहभागितामै फाईनल पुगेको उज्वेकिस्तानको ब्ल्याक बुल्सलाईपनि पहिलो सहभागितामै उपाधि जितेर ईतिहास रच्ने अवसर प्राप्त छ ।
पुलिसले प्रि–क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लव पोखरालाई उद्घाटन खेलमा १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाईज क्लव युकेलाई २–० र सेमीफाइनलमा चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको अर्को फाईनलिष्ट टिम ब्ल्याक बुल्सले भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० र सेमीफाइनलमा ५ पटकको उपाधि बिजेता थ्रीस्टार क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधि नजिक पुगेका दुबै टोली लयमा देखिएका छन् । फाइनल यात्रासम्मको खेल हेर्दा दुबैले निर्धारित समयमै नतिजा आफ्नो पक्षमा पारेका छन् । त्यसैले उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा खेलप्रेमीहरुको छ ।
ब्ल्याक बुल्स उत्कृष्ट लयमा छ । टेक्निकल्ली र ट्याक्टिकल्ली रुपमा पुलिस टिम भन्दा ब्ल्याक बुल्स अब्बल छ । उसको फिनिसिङ र स्कोरिङ सबैभन्दा राम्रो पक्ष हो । त्यसलाई कायम राख्नसके ब्ल्याक बुल्सको पक्षमा नतिजा जाने सम्भावना छ । तर नौलो मैदान र दर्शकको साथ नपाउँदा उसलाई मनोवैज्ञानिक असर पर्नसक्छ ।
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए । हामी सम्पूर्ण रुपमा उपाधि जित्नकै लागि आएका हौं,उनले भने,‘फाइनल खेल हो । जित दुबै टिमको लक्ष्य हो । यसमा समान ५०–५० प्रतिशत हुन्छ । हामी जित्नेगरी नै खेल्छौं ।’ उनले प्रतिद्वन्द्वी पुलिसको टिममा स्टार खेलाडी नभएपनि टिम स्पिरिट र फाष्ट गेम प्रशंसायोग्य रहेको बताए ।
ब्ल्याक बुल्सका कप्तान जाखिनगिर अख्मादोभले फाइनल भिडन्तका लागि आफूहरु मानसिक रुपमा तयार रहेको बताए । उनले भने,‘हामी उच्च मनोबलका साथ खेलिरहेका छौं । पहिलो भन्दा दोश्रो खेल झनै राम्रो भयो, त्यसैले आशा छ फाइनलमापनि यसले निरन्तरता पाउँछ ।’
पुलिसका प्रशिक्षक चेतन घिमिरेले सातौं पटक उपाधि जितेर ईतिहास रच्न आफूहरु आतुर रहेको बताए । हामी लयमा छौं,उनले भने,‘हामीसँग स्टार खेलाडीको कमी छ । तर नया खेलाडीमा युवा जोश र आत्मविश्वास भएकाले उपाधि जित्छौं भन्नेमा ढुक्क छौं ।’
पुलिसका कप्तान राम वाजीले आफूहरुमा जित्नैपर्छ भन्ने हुटहुटी रहेको बताए । स्टार खेलाडी नहुँदा मनोवैज्ञानिक असर होला,उनले भने,‘तर हामी जितेर ईतिहार रच्न चाहन्छौं । त्यो हुटहुटी र युवा जोश हामीसँग छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







