आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ३

उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले सर्बाधिक उपाधि बिजेता नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पहिलो पटकको सहभागितामै उपाधि जितेर ब्ल्याक बुल्सले ईतिहास रच्न सफल भएको छ । बिजेता ब्ल्याक बुल्सले ट्रफीसहित नगद १२ लाख १ हजार जितेको छ ।

पराजित पुलिसले उपबिजेतामै चित्त बुझाउनुका साथै सातौं पटक उपाधि जितेर ईतिहास रच्नबाट चुकेको छ । उपबिजेतामा चित्त बुझाएको पुलिसले ६ लाख १ हजारसहित ट्रफी हात पा¥यो ।

ब्ल्याक बुल्सलाई जिताउन जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोभले गोल गरे । पुलिसका लागि शिशिर चौधरीले सान्त्वना गोल गरे । टेक्निकल्ली र ट्याक्टिकल्ली अब्बल ब्ल्याक बुल्सले पहिलो हाफको ४० औं मिनेटमा खाता खोलेको थियो । विपक्षी खेलाडी प्रज्वल चौधरीले ह्याण्ड गरेपछि पाएको फ्रिकिकलाई जाखोनगिर अख्मादोभले सदूपयोग गर्दै टिमलाई अग्रता दिलाए । उनले हानेको प्रहार पुलिसका गोल रक्षक शत्रुधनले रोक्ने प्रयास गरेपनि पूर्ण रुपमा क्लियर नहुँदा बलले जाली चुम्न पुग्यो ।

खेलको ५९ औं मिनेटमका असिलबेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर पारे । गोल पोष्ट नजिक रहेका उनले विपक्षी गोलकिपरलाई छलाउँदै जाली चुमाए । पहिलो सहभागितामै उपाधि जित्ने सोंचका साथ मैदानमा उत्रिएको ब्ल्याक बुल्सका लागि साभकातजोन सात्तोरोभले ६६ औं मिनेटमा तेश्रो गोल गर्दै जित सुनिश्चित गरे ।

खेलको ७४ औं मिनेटमा पुलिसका शिशिर चौधरीले सान्त्वना गोल गरे । उनले उज्वल राईको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसपछि थप गोल फर्काउन नसक्दा पुलिसले सातौं पटक उपाधि जितेर ईतिहास रच्ने मौका गुमाउन मात्र पुगेन, उपबिजेतामा चित्तसमेत बुझाउन बाध्य भयो ।

प्रतियोगितामा ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाईकल प्राप्त गरे । अन्य विधागत पुरस्कारमासमेत ब्ल्याक बुल्सले एकछत्र राज ग¥यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका ब्ल्याक बुल्सका साभकातजोन सात्तोरोभ ४ गोल गर्दै हाईस्कोर, जसुरबेक राजाबोभ बेस्ट गोलकिपर, अलुजोन अलिजोनोभ बेष्ट डिफेन्डर, बजिजबेक खुचसोनबोईल बेस्ट फरवार्ड, अबुलाजिज निशोनबाईभ बेस्ट कोच बने । त्यस्तै, नेपाल पुलिस क्लवका राम वाजी बेस्ट मिडफिल्डर, सञ्जीव लामा ईमर्जिङ प्लेयर तथा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेडले फेयर प्ले टिम बन्दै १०÷१० नगदसहित ट्रफी र मेडल प्राप्त गरे ।

बिजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास मन्त्री विन्दुकुमार थापा, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सहारा क्लव पोखराका अध्यक्ष केशवराज बराल, पूर्व अध्यक्षहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।