
पोखरा, फागुन ३
पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमि)तर्फ केन्याली धावकहरुले बर्चस्व जमाएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा शनिबार सम्पन्न १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक हाबी भएका हुन् ।
फूल म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पीयन बने । २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गरेका उनले यसअघि केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको रेकर्ड तोडे । वाहोमले १८ औं संस्करणमा २ घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड राखेका थिए । यसपटकपनि सहभागि वाहोमले च्याम्पीयन विल्सनभन्दा २ सेकेण्डले पछि परेर २ घन्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गर्दै दोश्रो बने । च्याम्पीयन विल्सनले ५ लाख र दोश्रो बनेका वाहोमले ३ लाख नगदसहित मेडल जिते ।
त्यस्तै अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गरी तेस्रो बन्दा नेपाली धावक किरणसिंह बोगटी चौथो बने । तेश्रो बनेका ओनेसमसले २ लाख प्राप्त गर्दा चौथो बनेका बोगटीले ५० हजार प्राप्त गरे ।
म्याराथनमा नेपाली धावक निरोज भट्ट क्षेत्रीले पाचौं स्थान प्राप्त गर्दै २० हजार, रिखुलाल सिंह मगरले छैटौंहुँदै १५ हजार, दिनेशसिंह बोगोटीले सातौंहुँदै १० हजार प्राप्त गरे ।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री च्याम्पीयन बने । २ घन्टा ३८ मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गरेका उनले ५० हजार नगदसहित मेडल जिते । त्यस्तै, रिखुलाल मगर दोस्रोहुँदै ३० हजार, दिनेश सिंह बोगोटी तेस्रोहुँदै २० हजार, मिनराशी विक चौथोहुँदै १५ हजार, अशोक बराम पाँचौहुँदै ८ हजार, सनम गुरूङ छैटौंहुँदै ६ हजार र प्रितम गुरूङ आठौहुँदै ४ हजार नगद हात पारे ।
पुरुष हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरा च्याम्पीयन बने । १ घन्टा ०९ मिनेट ०७ सेकेण्डमा निर्धारित २१ किलोमिटरको दुरी पारे गरेका उनले ७५ हजार नगदसहित मेडल जिते । पुरुष हाफ म्याराथनमा नेपाली धावक सन्तोष विक्रम विष्टले १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी दोश्रोहुँदै ५० हजार, १ घन्टा १० मिनेट ०२ सेकेण्डमा दौड पुरा गरेका गजेन्द्र राई तेस्रोहुँदै ३० हजार, केन्याली धावक ईमानुयल किप्तारबीले चौथोहुँदै १५ हजार र नेपाली धावक उमेश थापाले पाचौंहुँदै नगद ५ हजारसहित मेडल जिते ।
महिला हाफ म्याराथनमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ लगातार दोश्रोपटक च्याम्पीयन बनिन् । १ घन्टा २० मिनेट ०३ सेकेण्डमा निर्धारित २१ किलोमिटर दौड पुरा गरेर च्याम्पीयन बनेकी श्रेष्ठले नगद १ लाख ५० हजारसहित मेडल जितिन् । केन्याली धाविका स्वारोन जोनोटिक १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दै दोश्रो भएर १ लाख, नेपाली धाविका पुष्पा भण्डारीले १ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो बनेर ७५ हजार, आस्मा विकले चौथोहुँदै १५ हजार र द्रोपता कुमारी कठायतले पाँचौहुँदै ५ हजार प्राप्त गरे ।
१० किलोमिटर पुरुष दौडमा शुभम लामिछाने प्रथम भए । ३६ मिनेट ०५ सेकेण्डमा दौड पुरा गरेका उनले ३० हजार नगदसहित मेडल जिते । सो स्पर्धामा राजेन्द्र तामाङ दोस्रोहुँदै २० हजार, बादल कार्की तेश्रोहुँदै १०हजार जित्न सफल भए ।
१० किलोमिटर दौड महिलातर्फ सुमित्राकुमारी चौधरी प्रथम बनिन् । ३८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेकी उनले ३० हजार, ४४ मिनेट ३८ सेकेण्डमा दौड पुरा गरेकी आशा रावत दोस्रोहुँदै २० हजार र ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरेकी नारायणी भण्डारी तेस्रोहुँदै नगद १० हजारसहित मेडल जित्न सफल भए ।
५ किमि छात्रतर्फ सगुन लामिछानेले प्रथमहुँदै १५ हजार, सुजन नेपाली दोश्रोहुँदै १० हजार र इश्वर ढकाल तेश्रोहुँदै ७ हजार जित्न सफल भए ।
छात्रातर्फ मेनुका अधिकारी प्रथमहुँदै १५ हजार, एन्जिला जिटी दोश्रोहुँदै १० हजार र साधना परियारले तेश्रोहुँदै ७ हजार जिते ।
भेट्रान्स पुरुष ५० वर्ष माथीको दौडमा धर्म महर्जन प्रथम, रेवतबहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी तेस्रो बने । महिलातर्फ टोलमाया थापा प्रथम, दुर्गालक्ष्मी गुरूङ दोस्रो र राम माया गुरूङ तेस्रो भए । यस स्पर्धाका दुबैतर्फका बिजेताले क्रमशः १५ हजार, १० हजार ७ हजार नगद प्राप्त गरे ।
यसअघि पोखरा रंगशालाबाट सुरू भएको १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको नेपाल सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।