गण्डकीमा मानव अधिकार उलंघनको घटनामा ५०४ जना पीडित : ईन्सेक

- सबैभन्दा बढी कास्कीमा


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ८

गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलंघनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल ५ सय ४ जना पीडित रहेको पाइएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १ सय १२ जना कम हो ।

अघिल्लो वर्ष सन २०२३ मा मानव अधिकार उलंघनका घटनामा ६ सय १६ जना पीडित भएका थिए । त्यसमा राज्य पक्षबाट ५ जना र गैरराज्य पक्षबाट ६ सय ११ जना पीडित भएका थिए । यस वर्ष भएका पीडितहरु सबै गैरराज्य पक्षबाट पीडित भएका हुन् । यस वर्ष राज्य पक्षबाट भने कोहिपनि पीडित भएको नपाइएको ईन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले जानकारी दिए ।

सन २०२४ मा परिवारका सदस्यबाट हत्या गरिएको घटनामा १० जना, बेचबिखनमा एक जना, बलात्कारका घटनामा ४५ जना, बलात्कारपछि हत्यामा एक जना, बलात्कारको प्रयासमा दुई जना महिला पीडित भएका छन् । त्यस्तै, साइबर अपराधमा दुई जना, बहुविवाहमा ११ जना, घरेलु हिंसाका घटनामा दुई सय १७ जना महिला पीडित भएका उनले जानकारी दिए ।

यसैगरी, बालविवाहमा तीन जना बालिका र दुई जना बालक, बेचबिखनमा चार जना बालिका, विद्यालयमा दिएको शारीरिक दण्ड सजायमा दुई जना बालिका र एक जना बालक पीडित भएका छन् । त्यस्तै, नवजात शिशुको हत्यामा एक जना बालिका, बलात्कार घटनामा ६८ जना बालिका, बालयौन दुव्र्यवहारका घटनामा एक सय २७ जना बालिका र चार जना बालक, पीडित भएकोे इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको उनले जानकारी दिए ।

ईन्सेकको प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसा गम्भीर चुनौतिका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । घरेलु हिंसामा २ सय १७ जना महिला, बलात्कारमा ४५ महिला, बलात्कारपछि हत्यामा १ जना तथा साइबर अपराधमा २ जना महिला गण्डकी प्रदेशमा पीडित भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्र्ष २०२३ मा राज्य पक्षबाट ५ जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष गरि जम्मा ६ सय १६ जना पीडित भएका थिए । गत वर्षको तुलनामा यस वर्ष समग्र घटनामा ११२ जनाले कमी आएको हो ।

बालअधिकार उल्लंघनका घटनामा भने यस वर्ष अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले बाल अधिकार उलंघनमा १ सय ३१ जना बालबालिका पीडित भएको पाईएको बताए । अघिल्लो वर्ष ११५ जना बालबालिका पीडित भएको पाइएकोमा यस वर्ष १६ जना बढेको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मानव अधिकार उलंघनका घटना सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा दर्ता भएका छन् । कास्कीमा १ सय १३ जना महिला र ३६ जना पुरुष गरी कुल १ सय ४९ जना पीडित रहेको जनाइएको छ । मनाङमा भने एउटा मात्र बहु विवाहको घटना दर्ता भएको खकुरेलले जानकारी दिए । महिला तथा बालबालिका माथि भएका हिंसाका घटनामा मिलापत्र गराउने पुरानै प्रवृत्ति कायम रहेको ईन्सेकले बताएको छ । ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले भने,‘बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा पीडितलाई न्याय दिनु राज्यको दायित्व हो,‘तर आरोपितलाई धरौटीमा रिहा गरिने प्रवृत्तिले पीडित न्यायबाट वञ्चित भइरहेका छन् ।’ त्यसैले महिला तथा बालबालिकामाथिको हिंसा बढेको देखिएको ईन्सेक गण्डकी प्रदेश प्रमुख खकुरलले बताए ।

ईन्सेकले महिला तथा बालबालिकामाथि हुने हिंसामा परिवारका सदस्य, आफन्त र चिनजानका व्यक्तिहरू नै बढी संलग्न रहेको प्रतिवेदनले देखाएको जनाएको छ । यसले गर्दा पीडितले न्याय पाउन थप चुनौति देखिएको प्रमुख खकुरेलले बताए । त्यस्तै, प्रदेश सरकारले हिंसा पीडित महिलाहरूका लागि सुरक्षित गृह निर्माण गरेको भनेपनि त्यो सञ्चालनमा आउन नसक्दा पीडितले सुरक्षित महशुष गर्न नसकेकोपनि उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।