स्याङजाका किसानले बिक्री गरे ६० लाखको सुन्तला


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८१ मा प्रकाशित




वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् ।

व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत छन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन्। ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गरेका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आएका छन्।

यस वर्ष न्यूनतम रु ७० देखि अधिकतम रु एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उनले बताए । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उनले भने, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।”

गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उनले बताए । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु ६० लाख हुन पुगेको उनी बताउछन् ।

करिब ८० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्यालको फार्ममा हाल दुई हजार दुई सय सुन्तलाका बोट छन् । त्यसमध्ये दुई हजार बोटले उत्पादन दिन्छन् भने दुई सय साना बिरुवा छन् । अर्यालले २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका बिरुवा ल्याएर सारेका थिए । सोही समयमा सारिएका बिरुवा राम्रो हुँदै गएपछि विसं २०४२, २०५० र हालसालै पनि सुन्तलाका बोट थप गरेका छन् ।

“मेरो आम्दानीको मुख्य स्रोत नै सुन्तला हो”, उनले भने, “आठ जनाको परिवारको शिक्षादीक्षा तथा घरखर्च सबै यसैबाट चलाएको छु ।” सुन्तला व्यवसायी अर्यालले आफ्नो फर्ममा उत्पादन गरेको सुन्तलासहित अन्य कृषकको पनि सुन्तला सङ्कलन तथा खरिद गरी बिक्रीसमेत गर्दै आएका छन् । उनले यस वर्षमात्रै रु चार करोड ५७ लाखको सुन्तला खरिद बिक्री गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।