पोखरा, फागुन १२
पर्यटनको राजधानी पोखराको पर्यटनको प्रमुख गन्तव्य मध्यको एक सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयास थालिएको छ । प्राकृतिक छटाहरुको दृश्यावलोकनमार्फत नै पोखरा आउने पर्यटकको पहिलो रोजाईमा पर्दै आएको सराङकोटलाई थप गुल्जार बनाउने उद्धेश्यले त्यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न लागिएको हो ।

सूर्योदय र सूर्यास्त अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित सराङकोट प्राकृतिक छटा, माछापुच्छ«े हिमालदेखि अन्नपूर्ण हिमश्रृंखला, फेवाताल र पोखरा बजार दृश्यावलोकनका लागिपनि उत्कृष्ट गन्तव्य हो । जसका लागि दैनिक सयौं पर्यटकहरु विहान झिसमिसेदेखि बेलुका गोधुली साँझमात्र होईन राती बास बस्नेहरुपनि प्रशस्तै हुन्छन् । अझ पर्यटनको उच्च सिजनमा सूर्योदय हेर्नका लागि विहान ४ बजेदेखि नै सराङकोटमा घुईंचो लाग्ने गर्छ । पोखरा आउने पर्यटक सराङकोट नपुगेका बिरलै होलान् । अझ प्याराग्लाईडिङको टेकअफ रहेको सराङकोट साहसिक पर्यटनका लागिपनि प्रमुख गन्तव्य हो । उसो त अन्नपूर्ण केबलकार थपिएपछि आवतजावतमा सहजता प्रदान गर्नुका साथै आकर्षणपनि थपिएको छ ।

यहि प्राकृतिक छटा, हिमश्रृंखला र तालको दृश्यावलोकनमार्फत ब्राण्ड बनेको सराङकोटलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने प्रयास स्वरुप अहिले धमाधम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । जहाँ हालसम्म कैलाशेश्वर शिव मन्दिर, विशाल पञ्चमुखी गणेश मुर्ति, १०८ शिव लिङ्ग, १०८ नै धारा, भ्यू टावर, भैरव र भुमे कालिका मन्दिर निर्माण गरिएका छन् । केहि निर्माणको क्रममा रहेको र आकाशे पुललगायतका पूर्वाधार भने निर्माण गर्न बाँकी रहेको अध्यक्ष जिसीले बताए । यसका लागि ३५ करोड लाग्ने उनको अनुमान छ । निर्माण भइसकेका मन्दिर र मूर्तीको यहि फागुन १४ गते महायज्ञको शुभारम्भको अवसर पारेर राष्ट्रपती रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।
अन्नपूर्ण केबुलकारले बनाईदिएको विशाल पञ्चमुखी गणेश मूर्ती ५१ फुटको रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । यो मूर्ती नेपालकै सबैभन्दा ठूलो हो,उनले भने,‘भारतमापनि एकमात्र ठाउँमा छ भन्ने सुनिएको छ । यसमा पूजा गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’
उसो त १०८ शिवलिंग र १०८ धारा निर्माण गरिएको छ । योसँगै अब मुक्तिनाथ गएर १०८ धारामा नुहाउने र १०८ शिव लिंगमा पूजा गर्ने बाध्यता हट्ने विश्वास समितिको छ ।
पर्यटकीय दृष्टिकोणले मात्र होईन, धार्मिक दृष्टिकोणलेपनि सराङकोट पहिलेदेखि नै परिचित रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । उनका अनुसार कुलमण्डन शाहको पालादेखि नै भुमेकालिका मन्दिर थियो । त्यसताका नै भुमेकालिकामा पूजा गरिन्थ्यो, कुनैपनि कामको शुरुवात होस् वा पाकेको बाली त्यहाँ नचढाई नखाने चलन थियो,उनले भने,‘अहिले त्यहि मन्दिरलाई जिर्णोद्धार गरेर आकर्षक बनाइएको छ ।
सराङकोटमा पहिलेदेखि नै शिवको विशाल मूर्ती बनाउने तयारी गरिएको थियो । तर आर्थिक अभावका कारण ढिलासुस्ती हुँदा पोखरा–२२ पुम्दीकोटले पहिले बनायो । जसका कारण त्यो योजना थाती राखेर सराङकोट धार्मिक क्षेत्र विकास समिति र पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिरलगायतका मन्दिरतर्फ मोडियो । समितिका अध्यक्ष जिसी भन्छन्,‘तत्कालीन अध्यक्ष लोकबहादुर थापाले सपनामा भगवान प्रकट भई शिवको मूर्ती राख्नु भन्नु भएको छ । त्यो काम गरौं भन्नुभयो, हामीलेपनि हुन्छ भनेर महायज्ञ गरियो तर सोंचेजती अर्थ संकलन नभएपछि त्यो काम त्यत्तिमै थाती रह्यो ।’ तर अहिले त्यो सपना पूरा गर्न आफूहरु लागेको उनले बताए । तर अहिलेपनि पैसा भएर काम गर्न नलागेको उनको भनाई छ । हामीसँग पैसा भएर यत्रो काम आँटेका होईनौं,उनले भने,‘सबैको सहयोग र साथ पाईन्छ भन्ने आशले हो ।’ उनले आवश्यक रकम जुटाउन यहि फागुन १४ गतेदेखि २१ गतेसम्म महायज्ञ गरिन लागेको बताए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने अध्यक्ष जिसीले जानकारी दिए । महायज्ञमा आउने, जानेलाई अन्नपूर्ण केबुलकारमा निःशुल्क यात्रा गराईने उनले बताए । ‘त्यसका लागि सम्झौता भइसकेको छ’–उनले भने ।
पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट अब धामको रुपमा विकास हुने बताए । ‘सराङकोट विवाह, ब्रतबन्धलगायत गर्ने गन्तव्यको रुपमा विकास हुन्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







