
पोखरा, चैत ५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए ।
यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो पटक भएको ऐतिहासिक व्यवसायीक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा पोखरेली पर्यटन व्यवसायीहरु छेन्दू गएका हुन् । सो विमानमा पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पर्यटन वोर्ड पोखराका कार्यालय प्रमुख मणीराज लामिछानेलगायत छन् । त्यस्तै, पोखराका पाँच पत्रकारपनि सो विमानबाट छेन्दू गएका छन् ।
पोखराबाट गएका पोखरेली पर्यटन एकहप्ताको छेन्दू बसाईपछि पोखरा फर्किनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने २ दिनपछि काठमाडौं ट्राञ्जिट बनाएर फर्किनेछन् । आफ्नो कार्यव्यस्तताका कारण भ्रमण छोट्याएर आफू फर्किने उनले बताए ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट भइसकेपनि पोखराबाट सिधै अन्र्तराष्ट्रिय फ्लाईट भएको पहिलो पटक हो । विदेशबाट पोखरा सिधै चार्टर्ड उडान भएपनि पोखराबाट सिधै विदेश उडान भने हुन सकेको थिएन ।
यो चार्टर्ड फ्लाईटबाट नियमित अन्र्तराष्ट्रिय फ्लाईटको लागि ढोका खुल्ने विश्वास गरिएको छ । विश्वका जुनसुकै विमानस्थलबाट नियमित फ्लाईट हुनुअघि पहिलो फ्लाईट चार्टर्ड फ्लाईटबाटै शुरुवात भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागिपनि यो फ्लाईट नियमित चार्टर्ड फ्लाईटका लागि कोशेढुंगा सावित हुने पोखरेली पर्यटन व्यवसायीहरुको विश्वास छ ।
मंगलबारबाट शुरु भएको चार्टर्ड फ्लाईटपछि अब हरेक हप्ता पोखरा–छेङ्दु नियमित फ्लाईट हुने व्यवसायीको दाबी छ । पहिलो चरणमा ३ हप्ताका लागि चार्टर्ड उडान गर्ने सम्झौता भइसकेको छ । त्यसबाहेक थप ७ हप्ताका चार्टर्ड उडान गर्ने मौखिक सहमति भइसकेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताए । उनका अनुसार पहिलो चार्टर्ड फ्लाईटमा पोखरेली पर्यटन व्यवसायीहरु सहभागी छन् ।
पहिलो फ्लाईट भएको एक हप्तापछि दोश्रो फ्लाईटमा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरुसँग पत्रकारहरुको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेश्रो फ्लाईटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरु जाने पोखरा पर्यटन परिषदले जनाएको छ । नियमित चार्टर्ड फ्लाईटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले पहारीले बताए । उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार २५० जना भन्दा बढी चिनिया पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ । यो प्रयास चिनिया दूतावासको सहयोगमा भइरहेको उनको भनाई छ ।
व्यवसायीक चार्टर्ड उडानबाट शुरु भएको यो अभियान व्यावसायिक उडानमा परिणत हुने विश्वास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको छ । ‘अब व्यवसायीक उडान हुनुपर्छ । त्यसका लागि धेरै ढिला भइसक्यो । अब हुने चार्टर्ड फ्लाईटले त्यसको ढोका खोल्नेछ’–उनले भने ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चार्टर्ड फ्लाईट नियमित व्यवसायीक उडानका लागि लगानी हुने बताए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल नेसनल हो कि ईन्टरनेसन ? भनेर बारम्बार प्रश्न उठ्ने गरेको छ,उनले भने,‘यो चार्टर्ड फ्लाईटले त्यसको जवाफ दिनेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।