
चिसापानीमा शुक्रबार भएको निशुल्क शिविरमा ३ सय ५२ जनाको सित्तैमा जाँच गरिएको छ । प्रगतिशील टोल विकास संस्थाको आयोजनामा भएको शिविरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल), युआरएल हेल्थ केयर र मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग थियो ।
शिविरमा पोखरा महानगरको स्वास्थ्य महाशाखाले महिलाको पाठेघरको क्यान्सरसम्बन्धी जाँच सित्तैमा गरेको थियो भने मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले निशुल्क परामर्श सेवा दिएका थिए । कार्यक्रममा युआरएलले मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिएको थियो ।
शिविरमा सहभागीहरुको दन्त परीक्षणसमेत गरिएको छ । यसका लागि युआरएल हेल्थ केयर प्रालिले सघाएको थियो । कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदायकहरुले गाउँ, बस्तीमै सेवा र सचेतना उपलब्ध गराउँदा स्थानीयको पहुँच बढ्दै जाने उल्लेख गरे । उनले यस खालको दायित्व निर्वाह गर्न अरु स्वास्थ्य संस्थासमेत लाग्नुपर्ने उनको भनाइ छ ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए । उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरहरुमा सहभागिता जनाउँदै आएको बताए । यो युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको १ सय ९० औं शिविर हो ।
सोही अवसरमा युआरएल र प्रगतिशील टोल विकास संस्थाबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतामा आगामी २ वर्षसम्म यो टोलका सदस्यले युआरएलका सेवामा ३० प्रतिशत र गण्डकी हेल्थ केयरका सेवामा विशेष छुट पाउनेछन् । प्रगतिशील टोलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सफल बराल, युवराज बराल लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।