पोखरा, चैत १८
पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

आलु गाउँको रुपमा परिचित हेमजामा महोत्सवको अवसरमा आलुकै पहाड बनाएर प्रदर्शन गर्न लागिएको उनको भनाई छ । आलुको पहाडबाट महोत्सवमा आउने ग्राहकले आफूलाई आवश्यक पर्ने आलु खरिद गरेर लैजानसक्ने श्रेष्ठले बताए । पछिल्लो समय आलु खरिद गर्नेसँगै दर्शकले आलुको पहाडमा सेल्फी खिच्ने क्रम ह्वात्तै बढेको छ । जसले आलु महोत्सवमा दर्शकलाई आकर्षित गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यस वर्ष महोत्सवमा प्रतिकेजी आलुको मूल्य अधिकतम ४२ रुपैयाँ कायम हुनेछ । ‘यो अधिकतम मूल्य हो । यो भन्दापनि कम हुनसक्छ ।’ पोखरामा अहिले आलुको मूल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ कायम छ ।
आलु महोत्सवमा विभिन्न आलुका परिकारकोपनि दर्शकले स्वाद लिन पाउनेछन् । आलु पारखीका लागि करीब २५ थरिका परिकार बनाएर स्वाद चखाईने क्लवका महासचिव हिक्मत थापाले जानकारी दिए । यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत प्रदर्शन, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने महासचिव थापाले बताए ।
महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्नेलगायतका उद्देश्य रहेको क्लवले जनाएको छ ।
हेमजामा करीब ५९० हेक्टर जमिनमा आलु खेती हुनेगरेको क्लवले जनाएको छ । हेमजाका २ हजार घरपरिवार कृषिमा आधारित रहेको र त्यसमध्ये १ हजार ५० कृषकले व्यवसायीक रुपमा आलु खेत गर्ने गरेको क्लवको दाबी छ । पोखरा महानगरपालिका वडा नम्बर–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पछिल्लो समय व्यवसायीक रुपमा आलु खेती गर्ने कृषक बढेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण पोखराका प्रमुख माधव लम्सालले महोत्सवमा आफूहरुको सहयोग रहने बताए । कार्यक्रममा कृषि ज्ञानकेन्द्र हेमजाका प्रमुख रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीलगायतलेपनि महोत्सवमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको जनाइएको छ ।
यसअघिका वर्षहरुमा निर्माण गरिएका आलुका पहाड ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







