हेमजामा शुरु भयो आलु महोत्सव, ४० टनको आलुको पहाड मुख्य आकर्षण

- आलु प्रतिकेजी ४२ रुपैयाँ


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०८१ मा प्रकाशित




पोखरा, चैत २४

पोखरामा आलु महोत्सव शुरु भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा आईतबारदेखि तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ शुरु भएको हो । बैशाख ३ गतेसम्म आयोजना हुने महोत्सवको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

‘आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवको मुख्य आकर्षण आलुको पहाड बनेको छ । आलु गाउँको रुपमा परिचित हेमजामा आयोजित महोत्सव स्थलमा ४० टनको आलुको पहाड राखिएको छ । जहाँ आलु खरिद गर्नेसँगै दर्शकले आलुको पहाडमा सेल्फी खिच्ने गरेका छन् ।

महोत्सवमा आलूको मूल्य प्रतिकेजी ४२ रुपैयाँ कायम गरिएको छ । पोखरा बजारमा अहिले आलुको मूल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ कायम रहँदा महोत्सवमा झण्डै १५ रुपैयाँ कममा बिक्री भइरहेको हो । जसले गर्दा पोखरा तथा आसपासका क्षेत्रका आलु खरिद गर्न महोत्सव जाने गरेका छन् ।

आलु महोत्सवमा करीब २५ थरिका आलुका परिकारकोपनि दर्शकले स्वाद लिन पाउने आयोजक विष्णुपादुका क्लवले जनाएको छ । यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत प्रदर्शन, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने क्लवका महासचिव हिक्मत थापाले जानकारी दिए ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्नेलगायतका उद्देश्य रहेको क्लवले जनाएको छ ।

हेमजामा करीब ५९० हेक्टर जमिनमा आलु खेती हुनेगरेको क्लवले जनाएको छ । हेमजाका २ हजार घरपरिवार कृषिमा आधारित रहेको र त्यसमध्ये १ हजार ५० कृषकले व्यवसायीक रुपमा आलु खेत गर्ने गरेको क्लवको दाबी छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको बताए । महोत्सवले किसानले उत्पादन गरेको आलुलगायतका स्थानिय उत्पादनको बजारीकरणमा सघाउने विश्वास उनले व्यक्त गरे । किसानलाई प्रोत्साहन गर्न महानगरले बिउ, बिजन वितरणदेखि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ । उनले भने,‘महोत्सवले आलुलगायतका स्थानियको उत्पादनको बजारीकरणमा सघाएको छ ।’

पोखरा महानगरपालिका वडा नम्बर–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पछिल्लो समय व्यवसायीक रुपमा आलु खेती गर्ने कृषक बढेको बताए । त्यसका लागि महानगर र वडाले वातावरण निर्माण गरिरहेकोसमेत उनले दाबी गरे ।

आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।