
पोखरा, चैत ३
पोखराका ट्याक्सी चालकहरुले आफूहरुलाई ट्राफिक प्रहरीहरुले हेपेर बोल्ने गरेको भन्दै गुनासो गरेका छन् । एवान ग्रेटर नेपाल यातायात प्रालिले बुधबार पोखरामा आयोजना गरेको नया वर्षको शुभकामना आदानप्रदान, ट्राफिक सचेतना एवम् क्यालेण्डर विमोचन कार्यक्रमको खुल्ला छलफलमा बोल्दै ट्याक्सी ड्राइभरहरुले आफूहरुलाई ट्राफिक चेकिङमा बसेका ट्राफिक प्रहरीहरुले बिना कारण तँ भनेर हेप्ने, दुव्र्यवहार गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डे समक्ष गुनासो गरेका हुन् ।

कार्यक्रमको शुरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख पाण्डेले ट्राफिक सचेतनाका लागि प्रशिक्षण दिईन् । सो क्रममा उनले चालकको लापरवाहीले दुर्घटना बढ्नुका साथै ट्राफिक ब्यबस्थापनमा चुनौति थपिएको बताईरहेकी थिईन् । सोहिबेला ट्याक्सी चालकहरुले कालो प्लेटका चालकहरुलाई ट्राफिक प्रहरीले विभेद गरेको भन्दै प्रतिवादन गरे । अनावश्यक रुपमा चेकिङ गर्ने, रातो प्लेटका सवारी साधनमा यात्रु बोक्दापनि छुट दिने तर कालो प्लेटलाई अनावश्यक रुपमा दुःख दिने, जरिवाना तिराउने गर्नेगरेको उनीहरुको गुनासो थियो । अर्का चालकले आफूहरुले सेवा गर्दा होस् वा अन्य राम्रा काम गर्दापनि स्याबास् नभन्ने तर गल्ती भेट्ने वित्तिकै कारवाही र जरिवाना गर्नचाहिं किन हतार भनेर प्रश्न गरेका थिए ।

त्यसपछि खुल्ला छलफल गरौं भन्दै ट्राफिक प्रहरी प्रमुख पाण्डेले खुल्ला छलफलका लागि आग्रह गरिन् । त्यसपछि चालकहरुले आफूहरुलाई ट्राफिक प्रहरीले तँ भनेर किन हेपेको भन्दै प्रश्न गरे । गल्ती केहि गरेको हुन्न, नत ट्राफिक नियम नै उलंघन गरेको हुन्छ,एक चालकले भने,‘एक्कासी ओई तँ यता आईज, ट्याक्सी साईड लगा, तँ साईड लाग, लाईसेन्स, ब्लुबुक निकाल भनिन्छ, हामीलाई किन हेपेर बोलेको ट्राफिक प्रहरीले ? ।’ त्यतिमात्र होईन उनीहरुले आफूहरुलाई सम्मान गरेर बोल्दा ट्राफिक प्रहरीको के बिग्रिन्छ ? भनेर प्रश्नसमेत गरे । गल्ती गरे कारवाही गर्न छुट भएपनि हेपेर नबोले हुन्थ्यो भन्ने उनीहरुको आग्रह थियो ।
ज्वाफमा ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख पाण्डेले जसले त्यसरी बोलेपनि त्यो गलत भएको बताईन् । चालकलाई मात्रै होईन, कसैलाईपनि मिसबिहेभ गर्न मिल्दैन,उनले भनिन्,‘जसले त्यसो गर्छ त्यो गलत हो । त्यसरी तँ भन्न मिल्दैन । रेसपेक्ट गरेर बोल्नुपर्छ ।’ उनले पेशा, व्यवसाय गरेकै भरमा कसैलाईपन िअपमानको शिकार बनाउनु नहुने बताईन् । प्रहरी मेरो साथी भन्ने हाम्रो अभियान नै छ,उनले थपिन्,‘त्यसैले सबैलाई साथीकै जस्तो व्यवहार गर्नुपर्छ ।’ त्यतिमात्र होईन प्रहरीले त हाँसेपनि र रिसाएपनि कारण चाहिने बताईन् । ‘बर्दी लगाईसकेपछि हामीले हाँस्दापनि कारण चाहिन्छ, झन् रिसाउँदा त अनिवार्य कारण चाहिन्छ ।’
ट्राफिक प्रहरी प्रमुख पाण्डेले कसैले अपमान वा दुव्र्यवहार गरेमा आफूलाई वा प्रहरी प्रमुखलाई खबर गरिदिन आग्रह गरिन् । प्रत्येक ट्राफिक प्रहरीको छातीमा नेमप्लेट हुन्छ,उनले भनिन्,‘जसले अपमान वा दुव्र्यवहार गर्छ त्यसको नामसहित कम्प्लेन गर्नूस् तर रिजनेबल कारणसहित, त्यसलाई हामी कारवाही गर्छौं ।’
सवालजवाफका क्रममा चालकहरुले मिटरमा ट्याक्सी चलाउ भन्ने तर भाडा समायोजन नगर्दा मिटरमा हिंड्नसक्ने अवस्था नभएको बताएका थिए । त्यसको जवाफमा ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्,‘हामीपनि भरियाजस्ता मात्रै हौं । यो हाम्रो बुताले भ्याउने कुरा होईन । समायोजन गर्ने काम सरकार र विधायिकाहरुको हो । उहाँहरुले बनाएको ऐन, कानून कार्यान्वयन गर्नेमात्र हो हाम्रो काम ।’ यद्वपी आफूहरु भाडा समायोजन भएर विवाद सँधैका लागि समाधान होस् भन्ने पक्षमा रहेको स्पष्ट पारिन् ।
एवान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिले बनाएको नया वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको थियो भने आपसमा शुभकामना आदानप्रदानपनि गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।