
पोखरा, ९ वैशाख ।
महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।
महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिईन् । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिईन् ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको बजारीकरणममा नविनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिदै उनले तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थल निर्माणका सम्बन्धमा दोषीलाई कारवाही गनुपर्ने तर यसलाई जोडेर समग्र पोखरालाई बदनाम गर्न नपाइने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पोखरामा पर्यटकको बसाई लम्ब्याउने किसिमका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
तालिममा पर्यटन व्यवसायमा संलग्न ६० जना महिला पर्यटन व्यवसायी सहभागी रहेको ओटेफका महासचिव एवम् कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।