ईस्लामिक कंकोरस बन्यो क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कपको च्याम्पीयन


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख १०

क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट प्रतियोगितामा ईस्लामिया कंकोरस च्याम्पीयन बनेको छ । पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उपाधि ईस्लामिया कंकोरसले जितेको हो । समान खेल जितेर अंक बराबर भएपनि नेट रनरेटमा अन्य दुई टिमलाई पछि पार्दै ईस्लामिया कंकोरस च्याम्पीयन बन्न सफल भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयन बनेको ईस्लामियाको प्लस २.४३ रनरेट थियो भने उपबिजेता बनेको पोखरा फोनिक्सको प्लस ०.१४ र अन्तिम बनेको फिस्टेल अप्मस्टको माइनस २.४३ रनरेट रहेको उनले बताए ।

अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जनालाई तीन टिम बनाएर गरिएको प्रतियोगितामा च्याम्पीयन बनेको ईस्लामियासँगै फिस्टेल अप्मस्ट र पोखरा फिनिक्सले समान एक÷एक खेल जितेका थिए ।

च्याम्पीयन बनेको ईस्लामिया कंकोरस र उपबिजेता बनेको पोखरा फिनिक्सलाई ट्रफी प्रदान गरिएको छ ।

च्याम्पीयन बनेको ईस्लामिया कंकोरसले पहिलो खेलमा फिस्टेल अप्मस्टलाई ७३ रनको फराकिलो अन्तरले हराएको थियो । तर दोस्रो खेलमा भने ईस्लामिया पोखरा फिनिक्ससँग २ विकेटले पराजित भएको थियो । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा फिस्टेल अप्मष्टले पोखरा फिनिक्सलाई १५ रनले हराएपछि तीनवटै टिमको दुई÷दुई अंक भएको थियो । जसका कारण फराकिलो अन्तरले हराउने ईस्लामिया प्रतियोगिताको च्याम्पीन बन्न सफल भएको हो ।

लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा फिस्टेल अप्मस्टले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । जसमा चन्द्रमाया बरालले ३८ बलमा ४६ रन र सुविना गुरुङले ३१ बलमा १४ रनको योदान दिए । फिस्टेल अप्मस्टलाई दवाबमा राख्न पोखरा फिनिक्सकी स्मारिका चौधरीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा यसोदा भुजेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।

१२७ रनको मध्यम लक्ष्य पछ्याएको पोखरा फिनिक्स १८.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा सिमितहुँदा दोस्रो खेल जित्ने सपना तुहिएको थियो । पोखरा फिनिक्सलाई सस्तैमा समेट्न फिस्टेल अप्मस्टकी पूर्णिमा गुरुङले ४ ओभरमा २१ खर्चेर ३ विकेट तथा कुसुम राईले ४ ओभरमा १९ रन खर्चेर २ विकेट हत्याएकी थिईन् । खेलमा प्लेयर अफ दी म्याच पूर्णिमा गुरुङ भएकी थिईन् ।

यसअघि दोस्रो खेलमा ईस्लामिया कंकोरसले पोखरा फिनिक्सलाईं २ विकेटले हराएको थियो । टस जितेर व्याटिङ गरेको ईस्लामियाले १५ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको पोखरा फिनिक्सले १७.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

त्यस्तै, पहिलो खेलमा ईस्लामिया कंकोरसले फिस्टेल अप्मस्टलाई ७३ रनले पराजित गरेको थियो । टस जितेर फिस्टेल अप्मस्टले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको ईस्लामिया कंकोरसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । १५४ रनको लक्ष्य पछ्याएको फिस्टेल अप्मस्ट भने १० ओभरमा ९ विकेट गुमाएर केवल ७४ रनमा पुग्दा उज्यालोको समस्याले व्याटिङ गर्न असमर्थ भएपछि डिएलएस मेथर्ड अनुसार ईस्लामिया कंकोरसलाई ७३ रनले बिजयी भएको घोषणा गरिएको अध्यक्ष पुनले बताए ।

प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । छनौट भएका खेलाडीहरुबाट पोखरा महानगरपालिकाको टिम निर्माण गरेर राष्ट्रिय स्तरको महानगर कप प्रतियोगिता खेल्ने संघका सचिव कपिलदेव गौतमले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।