
पोखरा, बैशाख १४
कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर २ जनाको ज्यान भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा आईतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यू भएको हो । मृतकहरु संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार समुन्द्री सतह भन्दा झण्डै ३ हजार ८ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा पदमार्ग फराकिलो बनाउने तथा सिंढी हाल्ने र रेलिङ निर्माण कार्य शुरु भएको छ । आईतबारदेखि मात्र शुरु भएको सो कार्यमा ९ जना मजदुर खटिएका छन् । ९ जनाले काम गरिरहेका बेला खाजा बनाउन भनेर नजिकै बनाइएको अस्थायी टहरामा २ जना गएका रहेछन्,अध्यक्ष केसीले भने,‘त्यहिबेला ठूलो हावाहुरी र पानी परेसँगै चट्याङ परेछ । चट्याङले लागेका उनीहरुको घटनास्थलमै मृत्यू भयो भनेर ठेकेदारले जानकारी गराएका छन् ।’ काम गर्ने ठाउँ केहि पर रहेकाले अन्य ७ जना भने सकुशल रहेको उनले बताए ।
मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा ४ जनाको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार शव निकाल्ने कार्य सोमबार विहानदेखि मात्रै हुनेछ । हामीले खबर पाएलगत्तै ईन्सपेक्टरको नेतृत्वमा ४ जनाको टोली पठाएका छौं,उनले भने,‘घटना स्थल पुग्नै ८/९ घण्टा लाग्ने रहेछ । आज जाँदाजाँदै रात पर्ने भएकाले सम्भवतः सोमबार विहानदेखि मात्रै शव निकाल्ने कार्य हुन्छ ।’
पानीसँगै हिउँ परेकाले शव हिउँले पुरेको अवस्थामा रहेको गाउँपालिका अध्यक्ष केसीले बताए । उनलेपनि प्रहरी सोमबार विहान मात्रै घटनास्थलमा पुग्ने बताए । पोखराबाट प्रहरीको टोली हिंडिसकेको खबर पाएका छौं,उनले भने,‘सम्भवतः सोमबार विहानदेखि मात्रै शव निकाल्ने कार्य हुने देखिन्छ ।’ उनका घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झण्डै चार घण्टाको दुरीमा पर्छ । जुन निकै विकट र जंगल क्षेत्र हो ।
गाउँपालिका अध्यक्ष केसीले नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको १८ लाख लागतमा सो पदमार्गको स्तरोन्नती गर्ने काम भइरहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।