गण्डकीमा श्रम विवाद : ६१ उजुरी, ४८ मा सहमति


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख १४

गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा ६१ वटा श्रम सम्बन्धि विवादका उजुरी परेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाबाट श्रम तथा रोजगार कार्यालय पोखरामा आर्थिक वर्ष २०८०÷८१ मा १४६ जनाले श्रम सम्बन्धि ६१ वटा उजुरी परेको हो । जसमध्ये ४८ वटा उजुरीमा वातामार्फत सहमति भई मेलमिलाप गराइएको कार्यालयले आईतबार पोखरामा एक कार्यक्रम गरी जानकारी गराएको हो । त्यसबाहेक ३ वटा उजुरीमा निर्णय गराइएको छ भने १० वटा उजुरीमा फछ्र्यौट हुन बाँकी रहेको कार्यालयका प्रमुख तथा श्रम बरिष्ठ अधिकृत सुरेश ढकालले जानकारी दिए ।

कार्यालयले आर्थिक वर्ष २०८०÷८१ के साउन र भदौमा श्रम सम्बन्धि कुनैपनि उजुरी नपरेको जनाएको छ । त्यसपछिको १० महिनामा भने निरन्तर उजुरी परेको बरिष्ठ अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार असोजमा ६ वटा, कात्तिकमा ८ वटा, मंसिर र पुसमा ६÷६ वटा, माघमा ४ वटा, फागुनमा ५ वटा, चैत ६ वटा, बैशाखमा ७ वटा, जेठमा ८ वटा र असारमा ६ वटा उजुरी परेका थिए ।

श्रम तथा रोजगार कार्यालयले कुल ६१ वटा उजुरीमध्ये ४ वटा बालश्रम सम्बन्धि मुद्धा परेको जनाएको छ । सो उजुरीमा तत्कालै सम्बोधन गर्दै बालश्रमिकको उद्धार गर्नुका साथै चारवटै उजुरीमा निर्णय गरेर कार्यान्वयन गर्न लगाएको जनाएको छ । उनका अनुसार बालश्रमिकलाई ३१ हजार पारिश्रमिक पनि दिलाईएको छ । श्रम सम्बन्धि विवादमा भने ७० लाख ७ हजार रुपैयाँ पारिश्रमिक श्रमिकलाई दिलाएको बरिष्ठ अधिकृत ढकालले बताए । उनले भने,‘बालश्रम सम्बन्धि मुद्धामा सिधै निर्णय गरेका छौं, श्रमिकको हकमा पनि पारिश्रमिक दिलाउने काम भएको छ ।’

श्रम तथा रोजगार कार्यालय पोखराले पछिल्लो समय न्यूनतम पारिश्रमिक लागु गर्न र सामाजिक सुरक्षा कोषमा अनिवार्य लैजान जोड दिएको जनाएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म गण्डकीमा २३ हजार २ सय ६ जना मात्रै दर्ता भएका छन् । नीजि क्षेत्रमा काम गर्ने श्रमिकहरुको सुरक्षा ज्ञारेण्टी गर्ने जिम्मेवारी हामीलाई छ,बरिष्ठ अधिकृत ढकालले भने,‘त्यसका लागि हामी निरन्तर खटिरहेका छौं ।’ तर जनशक्ति अभावमा प्रदेशभरी पुगेर अनुगमन गर्नुका साथै श्रम ऐन अनुसार नचलेका कम्पनी तथा कार्यालयलाई कारवाहीको दायरामा ल्याउन भने कठीन भइरहेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।