
पोखरा, बैशाख १४
नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की प्रज्ञा संस्कृति सम्मानबाट सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले संस्थाको स्थापना दिवसको अवसरमा आईतबार नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्कीलाई प्रज्ञा संस्कृति पुरस्कारबाट सम्मान गरेको हो । दुबै संस्थाले आ–आफ्नो जातीय संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकाले सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशी नगद ५०/५० हजार रहेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको स्थापना दिवसको अवसरमा प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा.जगनाथ रेग्मीलाई सम्मान गरिएको छ । त्यस्तै प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, प्रज्ञा संगीत सम्मानबाट संगीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङ, प्रज्ञा नारी सम्मानबाट रंगकर्मी प्रमिला तुलाचन, प्रज्ञा युवा सम्मानबाट नाटककार केदार पौडेल र प्रज्ञा प्रोत्साहन सम्मानबाट सरला लामिछाने सरूलाई सम्मान गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रज्ञा संस्कृति सम्मानबाट सम्मानित भएपछि नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेले गण्डकी प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै नेवार संस्कार, संस्कृति र भाषाको संरक्षण/प्रबर्द्दनकालागि अझ उत्साहका साथ लागि पर्ने उर्जा प्राप्त भएको बताएका छन् ।
प्रतिष्ठानकै भानु सभाहलमा आयोजित कार्यक्रममा चार वर्षको कार्यकाल भर सम्पन्न गरिएका उत्कृष्ट कार्यक्रमहरू समेटेर तयार पारिएको ३३ मिनेटको डकुमेन्ट्री पनि सार्वजनिक गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।