पोखरा स्पोर्टस् अवार्डका चार विधामा नोमिनेसन सार्वजनिक


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख १७

पोखरा स्पोर्टस अवार्ड–२०८१ को नोमिनेसन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २६ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदी लेकसाईडमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८१ को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्टस अवार्ड–२०८१ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) नोमिनेसनमा परेका छन् ।

त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा), भलिबलकी अरुणा शाही (कास्की) र आईटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् ।

वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) नोमिनेसनमा परेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एम.बी) आस्थाले जानकारी दिए ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) नोमिनेसनमा परेको उनले बताए ।

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ । बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।

मञ्चले बैशाख २६ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदी लेकसाईडमा पोखरा स्पोर्टस अवार्डको नवौं संस्करण आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप), पोखरा महानगर खेलकुद परिषदको सहयोगमा हुने अवार्डको तयारी तिव्र रुपमा भइरहेको जनाइएको छ । अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चले अध्यक्ष मानबहादुर घर्ती (एमबी) आस्थाको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।