
२६४९ औं बुद्धजयन्ती पोखरामा पनि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने भएको छ । बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी पोखरामा बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने जानकारी दिएको हो ।
समिति अध्यक्ष टेकबहादुर तामाङले सोमबार बिहान शुभारम्भ र्याली तथा साइकल र्याली गरेर सप्ताहब्य्यापी कार्यक्रम सुरु हुने बताए । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत साताभरी गुम्बा विहारमा विशेष पूजाका साथै विविध कार्यक्रम हुने बताए । बुद्ध जयन्तीको मुख्य दिन वैशाख २९ गते पूर्णिमाको दिन धर्मशिला बुद्ध विहार नदीपुरबाट शान्ति पदयात्रा सुरु हुनेछ । सो पदयात्रा पोखराका विभिन्न भाग परिक्रमा गरी पोखरा सभागृहमा धर्मसभामा परिणत हुने उनले जानकारी दिए ।
समितिका सल्लाहकार नरेन्द्रमान लालचनले नेपाल भगवान् बुद्धको जन्मभूमि भएको र सबै नेपालीले गौरवका साथ बुद्ध जयन्ती मनाउनु पर्ने बताए । बुद्ध धर्म नभएर ज्ञान, साधना र संस्कार भएको उनको भनाइ थियो ।
अर्का सल्लाहकार गोविन्दबहादुर ताम्राकारले पोखरामा बुद्ध जयन्ती मनाउने परम्परा २०१० दशकको अन्त्यतिरबाटै थालनी भएको र २०६० बाट सामूहिक रुपमा मनाउँदै आएको जानकारी दिए । साथै, उनले बुद्ध जयन्तीबारे सरकारले जति चासो लिनुपर्ने हो, त्यो नलिएको गुनासो गरे ।
समितिका उपाध्यक्ष चन्द्रलक्ष्मी गुभाजूले स्वागत मन्तव्य राख्दै बुद्ध जयन्तीलाई सभ्य र भव्यरुपमा मनाउनु पर्नेमा जोड दिइन् । कार्यक्रम सञ्चालनका क्रममा सचिव विष्णु तामाङले सिद्धार्थ गौतमको जन्म, बुद्धत्वप्रति र महापरीनिर्वाण ३ महत्वपूर्ण संयोग परेको वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती विश्वभरमै मनाइने गरेको बताइन् ।
बुद्ध जयन्ती समारोह समिति कास्कीका ४० वटा संघसंस्था आवद्ध रहेको नरेन्द्रमान लाल्चनले जानकारी दिए ।
लुम्बिनीमा ईशापूर्व ५६३ मा जन्मिएका सिद्धार्थ गौतमले ईशापूर्व ५२८ मा बुद्धत्व प्राप्त गरेका थिए । विश्वका सम्पूर्ण प्राणीको कल्याणका लागि निरन्तर ४५ वर्षसम्म बुद्धधर्मको प्रचारमा लागेका उनले ८० वर्षको उमेरमा ईशापूर्व ४८३ मा महापरीनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धजयन्ती समारोह समिति कास्कीले बुद्ध धर्मको प्रचारप्रसारमा गरेको उल्लेख्य योगदानको कदर गर्दै २ जनालाई सम्मान गर्ने भएको छ ।
सम्मानित हुनेमा धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष श्याम शाक्य र परियति बुद्ध विहार रानीपौवाका सचिव बमबहादुर गुरुङ छन् ।
२५६९ औं बुद्ध जयन्ती समारोहबीच सम्मानपत्र प्रदान गरी सम्मान गरिने समितिले जनाएको छ । २०६४ सालबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको उक्त सम्मानबाट यसअघि २२ जना सम्मानित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।