
पोखरा, बैशाख २२
पोखरा हर्न निशेधित क्षेत्र अर्थात ‘नो हर्न जोन’ हो । जहाँ सवारी साधनको हर्न बजाउन प्रतिबन्ध छ । त्यतिमात्र होईन पोखरामा ठूलो साउण्डमा माईकिङ गर्नसमेत पोखरा महानगरपालिकाले निशेध गरेको छ । पोखरा महानगरपालिकाले २०७४ साल साउन १ गतेदेखि पोखरालाई नो हर्न जोन घोषणा गरेको थियो । हर्नका कारण ध्वनी प्रदूषण हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै महानगरले हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो । हर्न निशेधित क्षेत्र घोषणा भएको एक महिनासम्म पोखरामा सचेतना कार्यक्रम गरिएको थियो भने भदौ महिनादेखि जरिवाना तोकिएको थियो ।
तर यहि हर्न निशेधित क्षेत्र पोखरामा अहिले हर्न आतंक छ । अझ भनौं ‘नो हर्न जोन’ पोखरामा हर्न आतंकले पोखरेली आतंकित छन् । जहाँ विहानैदेखि सवारी साधनको हर्नदेखि महानगरको फोहोरमैलाको गाडीमा बज्ने माईकिङले पोखरा साउण्ड प्रदुषणको चपेटामा छ ।
हर्नपनि आवश्यक्ताले बज्दैन, कसैले आफ्नो हतारले बजाउँछ त कसैले अरुलाई उछिन्न, अनि कसैलेचाहिं महिलालाई जिस्काउन । यतिसम्म कि अगाडि ट्राफिक जाम हुँदापनि पछाडिको सवारी साधनले हर्न बजाएर हैरान बनाउँछ । उसो त अगाडिको गाडीलाई ओभरटेक गर्नका लागि होस् वा बिना कारण हर्न बजाउँदै हुईंकिनेपनि उत्तिकै हुन्छन् । त्यसमाथि प्लस टु सकेका युवाहरुले बुलेटदेखि पल्सरसम्मका बाईक मोडिफाई गरेर चर्को आवाजमा हर्न बजाउनेको जमातपनि कम छैन ।
पोखरा चिप्लेढुंगा कार्यालयमा कार्यरत मुक्तिनाथ विकास बैंकका कर्मचारी राजु गिरी साउण्ड प्रदूषणले दिग्दार बनाएको बताउँछन् । बस स्ट्याण्ड नजिकै पर्ने उनको अफिसमा बस र माईक्रोको हर्नले आतंकित पारेको बताउँदै उनले भने,‘नो हर्न जोन त भन्ने मात्रैको भएको छ । विहानदेखि बेलुकासम्मै बज्ने हर्नले यहाँ बसिनसक्नु बनाउँछ ।’
नागरिक समाजका अगुवा तथा अभियन्ता रामबहादुर पौडेल नो हर्न जोन घोषणा भएर कार्यान्वयन भएको ७ वर्ष बित्दापनि हर्न आतंक फैलिनु दुःखद भएको बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘मुख्य सहरी क्षेत्रमा माईकिङ गर्न, प्रेसर हर्न बजाउन तथा ध्वनी प्रदूषण गर्न सख्त मनाही छ । तर पछिल्लो समय उलंघनका घटना बढेको छ ।’ उनले पोखरा महानगरकापालिकाका मेयर धनराज आचार्यलाई भेटेर केहि समय अगाडि ध्यानाकर्षणसमेत गराइएको बताए ।
त्यसलगत्तै पोखरा महानगरपालिकाले ध्वनी प्रदूषण नगर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो । सूचनामा भनिएको छ,‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमाबाहेक नगरबासीहरुको जनजीवनमा प्रभाव पर्नेगरी चर्को स्वरमा ध्वनी प्रदूषण हुने खालका कुनैपनि प्रकारका गतिविधि नगर्न÷नगराउन महानगरपालिका अनुरोध गर्दछ ।’
महानगरपालिकाको अनुरोधको बाबजुद ध्वनी प्रदूषण जारी छ । तर नियन्त्रणका लागि खास कदम चालिएको छैन । ट्राफिक प्रहरीले यदाकदा बुलेट बाईक मोडिफाई गर्नेलाई कारवाही गर्नेबाहेक प्रेसर हर्न बजाउनेलाई कारवाहीको दायरामा ल्याउनका लागि कुनै कदम चालेको छैन । जसले गर्दा नो हर्न जोनको उलंघनकर्ता ह्वात्तै बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पछिल्लो क्रममा प्रेसर हर्न बजाएर समस्या परेको भन्दै नागरिक समाजबाट गुनासो आएको स्विकारिन् । सो गुनासोपछि आफूहरुले ट्राफिक चेकिङलाई कडाई गरेको भन्दै उनले भनिन्,‘पछिल्लो दुई दिनमा बस र राती चल्ने ट्रक गरेर करीब एक सय वटा सवारी साधनको प्रेसर हर्न निकालिसकेका छौं । यसलाई हामी निरन्तरता दिन्छौं ।’ उनले लेन अनुशासन उलंघन गर्दाको परिणाम प्रेसर हर्न बजाउनेको संख्या बढेको बताईन् । भनिन्,‘सामान्यतया लेन अनुशासन मान्ने हो भने प्रेसर हर्न बजाउनै पर्दैन । तर हामी आफैपनि सचेत नहुँदा उलंघटनका घटना बढेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।