
पोखरा, बैशाख २३
पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेका छन् । जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकैदिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन् ।
जो अगुवा उहि बाटो हगुवा भनेजस्तै मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए । उनले कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपीट गरेको एक कर्मचारीले बताए । उनले भने,‘प्रमुख प्रशासकीय अधिकृतले बोलाएर उनको कार्यकक्षमा पुगेका अधिकृत पोखरेललाई वडाध्यक्ष पराजुलीले एक्कासी कठालो समातेर कुटपीट गर्दै लछारपछार गरे ।’
महानगरबाट रन्थनिएर आएका वडाध्यक्ष पराजुलीले अपराह्न सर्वश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई कुटपीट गरेका थिए । महानगर प्रहरीलाई लिएर फुटपाथको सामान उठाउन गएका उनले आफूलाई कुटपीट गरेको सुवेदीले बताए । सडक पेटीमा भएको सामान उठाएर लगे,उनले भने,‘त्यसरी लगेको सामानमा ग्राहककोपनि परेछ । त्यो ग्राहकको सामान मात्रै भएपनि फिर्ता दिन आग्रह गर्दै अलि परसम्म जाँदै थिएँ, वडाध्यक्ष पराजुलीले एक्कासी कुटपीट गर्नुभयो ।’ वडाध्यक्ष पराजुलीले आफूलाई मादक पदार्थ सेवन गरेर कुटपीट गरेको व्यवसायी सुवेदीको दाबी छ ।
आफैले मत दिएर जिताएको वडाध्यक्ष पराजुलीले आफैमाथि कुटपीट गरेपछि सर्वेश्वर मार्गका व्यवसायीले उनीमाथि कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । तर प्रहरीले जाहेरी दर्ता भने गरिसकेको छैन । आफूमाथि कुटपीट गर्ने वडाध्यक्ष पराजुलीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको पीडित व्यवसायी सुवेदीले बताए । उनले भने,‘तर प्रहरीले जाहेरी दर्ता गरेको छैन । सायद सोर्सफोर्सका कारण जाहेरी दर्ता नगरेको हुनसक्छ ।’ दिन दहाडै ममाथि कुटपीट भयो,उनले भने,‘यसरी वडाध्यक्षबाटै असुरक्षित भईन्छ भने हामी कसरी सुरक्षित हुन सकिन्छ ? उनले जनताको सेवा कसरी गर्न सक्छन् ? ।’
यसअघि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले व्यवसायीलाई कुटपीट गर्ने वडाध्यक्ष पराजुलीलाई कारवाही गर्न माग गर्दै वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मादक पदार्थ सेवन गरेर व्यवसायी कुट्ने वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउन उनीहरुको माग छ । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायी कुट्ने पराजुलीलाई कारवाही गरिनुपर्ने बताए । उनले भने,‘रक्षक नै भक्षक भएपछि उसलाईपनि त कारवाही हुनुप¥यो नि ।’
वडाध्यक्ष पराजुलीले कुटपीट गरेको स्वीकारेका छन् । म माथि नै आई लागेपछि प्रतिकार मात्र गरेको हुँ,उनले भने,‘मलाई नै देखाईदिने भन्दै औंला ठड्याउन थालेपछि प्रतिकार गर्दा लागेको हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।