नेपाल आएका पर्यटकमध्ये पोखरामा ४० प्रतिशत मात्रै आउने गरेको दाबी


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८२ मा प्रकाशित




श्रीषा रायमाझी/सीता परियार/श्रृष्टि भट्ट
पोखरा, बैशाख २९

नेपाल भित्रिएका पर्यटकमध्ये आधा भन्दा कम पर्यटक पोखरा आउने गरेको एक अध्ययनले देखाएको छ । घुमफिरका लागि नेपाल आउने कुल पर्यटकको ४० प्रतिशत पर्यटक मात्रै पर्यटनको राजधानी पोखरा आउने गरेको अध्ययनले देखाएको हो ।

पोखरामा हालैमात्र आयोजित एक कार्यक्रममा पर्यटन अध्येता विश्वराज बरालले एक कार्यपत्र प्रस्तुत गर्दै त्यसरी आएका पर्यटकमध्ये ६३ प्रतिशत पर्यटक विशुद्ध मनोरञ्जनका लागि आउने गरेको बताए । उनका अनुसार १५ प्रतिशत ट्रेकिङका लागि र १३ प्रतिशत तीर्थ यात्राका लागि आउने गर्छन् ।

अध्येता बरालले सन २०२३ मा गण्डकी प्रदेशमा ४ लाख ५० हजार विदेशी पर्यटकले भ्रमण गरेको बताए । उनले सन् २०२३ मा अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्ने बिदेशी पर्यटक २ लाख ४४ हजार रहेको बताए । यो संख्या हालसम्मकै उच्च भएको उनको दाबी छ ।

पौडेलले अन्नपूर्ण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकले दैनिक दैनिक ५ हजार खर्च भन्दा बढी खर्च गर्नेगरेको जानकारी दिए । यसलाई वार्षिक खर्चमा बदल्ने हो भने सो क्षेत्रमा जाने पयर्पटकले वार्षिक ५ अर्ब माथिको खर्च गर्ने उनको भनाई छ ।

पौडेलले गण्डकी प्रदेशको पर्यटन क्षेत्रले ५० हजार जनालाई रोजगारी सिर्जना गरेको बताए । तर अहिले यो क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको उनले टिप्पणी गरे ।

बरालले चुनौतिको संघारमा पुगेको गण्डकी प्रदेशको पर्यटनलाई उकास्न अन्नपूर्ण सर्किट, ढोरपाटन सर्किट, मनास्लु सर्किट, धवलागिरी सर्किट मध्ये पहाडी लोकमार्गको दक्षिणी क्षेत्र गरी पाँच क्लस्टरमा वर्गीकरण गरि विकास गर्नुपर्ने, प्रदेश पर्यटनको ट्राञ्जिट प्वाईन्ट पोखरा भएकाले यस क्षेत्रलाई सफा, व्यवस्थित र जिवन्त बनाउनुपर्ने, पोखरादेखि १ घण्टाको दुरीमा रहेका गन्तव्यहरुको संजालीकरण गरि पर्यटन प्याकेज बनाउनुपर्ने बताए ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरास्ट्रिय उडान गर्नुपर्ने, प्रदेशका पर्यटन सेवाको प्रोटोकल विकास गर्नुपर्नेलगायतका १६ बुँदे सुझाव दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।