गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले बिहीबार आयोजना गरेको बैठक पस्चात एक विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली फिर्ता नगरे आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने निर्णय गरेको महासंघ गण्डकीका संयोजक केदार पौडेलले जानकारी दिए ।
बैठकपछि जारी विज्ञप्तिमा नियमावलीमा रातो प्लेटका निजी सवारी साधनलाई यात्रु आसार पोसार गर्न दिने गरि नियमावली स्वीकृत गरि कार्यान्वयनमा ल्याएको विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ‘..प्रचलित कानुन विपरित प्रदेश सरकारले गरेको गैह्र कानुनी हर्कत प्रति आपत्ती जनाउदै जारी गरिएको नियमावली तत्काल खारेज नगरेमा सार्वजनिक सवारी साधन घर ग्यारेज खडा गरि आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा जानकारी गराउदै यसबाट हुन जाने असुविधा प्रति गण्डकी प्रदेश सरकार जिम्मेवार रहने छ,’ उल्लेख गरिएको छ ।
यातायात व्यवसायीले विगतमा भन्दा अहिले व्यवस्थित ढंगले व्यवसाय सञ्चालन गरेको र थप सच्चिने कुरामा पनि तयार रहेको बताएका छन् । तर, संघीय ऐन कानुनको बर्खिलाप हुने गरि सवारी तथा ‘यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाईने छैन’ भन्ने व्यवस्था र ‘दफा १२ (१) मा कुनै एक प्रयोजनको लागि दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाईने छैन’ भन्ने व्यवस्थालाई प्रदेश सरकारले नजर अन्दाज गरेर ल्याएको नियमावली नस्विकार्ने व्यवसायीले बताएका हुन् ।
मुलुकको सर्वाङ्गिण विकासको महत्वपूर्ण पाटोको रुपमा सार्वजनिक यातायात रहेको र सार्वजनिक यातायातको विकास बिना राज्यको व्यवस्थित विकास सम्भव नभएको ध्यानाकर्षण गराएका व्यवसायीले जारी गरिएको नियमावली तत्काल खारेज नगरेमा उत्पन्न हुने असुविधा प्रति गण्डकी प्रदेश सरकार जिम्मेवार रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशमा राइड शेयरिङलाई बैधता दिनेगरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पास गरेको हो । योसँगै गण्डकीमा निश्चित मापदण्ड पूरा गरेर निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने भएका छन् । यसै विषयलाई लिएर यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु आन्दोलित भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







