पोखरामा कटप्पा समूहको श्रृंखलाबद्ध डकैती, ६९ लाख बराबरको चोरी, डकैती

- १२ तोला सुन र १६ तोला चाँदीसहित ५ जना पक्राउ


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ २

पोखरामा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जना पक्राउ परेका छन् । पोखराका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जनालाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चोरी, डकैती गर्ने समूहका नाईके तनहुँ, शुक्ला गण्डकी नगरपालिका–१० शाङ्खे स्थायी घरभई ठेक्का पट्टाको काम गर्ने २६ वर्षीय कट्टप्पा उपनाम भएका सुवास विक, सोही स्थानमा घर भएका सवारी चालक काम गर्ने २३ वर्षीय बिमल विक, शुक्लागण्डकी–११ का कालिगड काम गर्ने २२ वर्षीय गणेश सुनार, स्याङ्जा, पुतलीबजार नगरपालिका–९ काल्खु घर भई हाल पोखरा–२ बस्ने कालिगड नै काम गर्ने २३ वर्षीय सुरेश विक र सोही ठाउँ घर भई हाल पोखरा–१० रामबजारमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् ।

श्रृङ्खलाबद्ध सुनचाँदी चोरी भएको उजुरी परेपछि अनुसन्धान र्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । चोरी, डकैतीका मुख्य नाईके भनिएका कट्टप्पालाई बैशाख २९ गते पोखरा–२६ बुढिबजारबाट, विमललाई वैशाख २६ गते पोखरा–३२ मझुवाबाट, गणेशलाई वैशाख ३१ ग्ते पोखरा–१० गौरीमार्गबाट तथा सुवास र दुर्गालाई बैशाख ३१ गते पोखरा–१० गौरीमार्गबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरामा श्रृङ्खलाबद्ध चोरी, डकैती गर्ने यो समूहका केहि भने यसअघि नै पक्राउ परेर कारागारमा रहेको उनले बताए ।

पक्राउ परेका कटप्पा समूहले श्रृंखलाबद्ध रुपमा विभिन्न ७ ठाउँबाट ६९ लाख भन्दा बढीको नगद तथा जिन्सी सामान चोरी, डकैती गरेको प्रहरीले जनाएको छ । यो समूहले पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी तथा डकैती गरेको पाइएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट १२ तोला ८ लाल बराबरको विभिन्न सुनका गहना, २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना बरामद गरिएको उनले बताए । त्यस्तै, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्नी र गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टासमेत बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए । बरामद भएका गरगहनाको मूल्य अहिलेको बजार भाउ अनुसार २२ लाख ६३ हजार ८ सय रुपैयाँ बराबरको हो ।

कास्की प्रहरीले पक्राउ परेकाहरुको साथबाट छड्के तिलहरी १ थान पोते सहित तथा ३ थान बन्दै गरेको छड्के तिलहरी, माईली तिलहरी ३ थान, सानो तिलहरी१ थान, चन्द्र पोते ५ थान, मोती माला ५ थान, चन्द्रमा ५ थान, गेडी पोते ३ थान, मंगलसुत्र ४ थान, नौ गेडी १ थान, १ गेडी २ थान र पेन्डम माला ७ थान रहेको जनाएको छ । त्यस्तै, रातो स्टार पोते ६ थान, सिक्री १ थान, औंठी ७ थान, चिम्टी काँटा ४ थान, पञ्चरत्न बाला १ थान, टप ४ जोर, फूली ६ थान, कानको ढुङ्ग्री १ जोर र सुनका टुक्रा (ढिक्का) ५ थान रहेका छन् ।

यसैगरी, चाँदीका गरगहनामा ३ थान औंठी, १ थान पत्थरसहितको सिक्री, ३ जोर सानो बाला, १ जोर ठूलो बाला (रैया), ३ जोर पाउजु, १ थान सिक्री, १ जोर पञ्चरत्न बाला, १ थान चुरी र चाँदीका ४ थान टुक्राहरु बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

कटप्पा समूहले पोखराको सिसुवाबाट ४ लाख ४९ हजार बराबरको गरगहना तथा धनमाल, पोखरा, तामुहनो दुर्गा मन्दिर टोलको एक घरबाट १८ लाख ४ हजार ७५० रुपैयाँ बराबरको धनमाल, पोखराकै शान्तिपथ ठूलढुंगाबाट ८ लाख ८० हजार बराबरको धनमाल, पोखरा–२६ बिजयपुरबाट ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल, बिजयपुरकै सोताटोलको एक घरबाट १४ लाख ४८ हजार २ सय रुपैयाँ बराबरको धनमाल, सोहि सोताटोलबाटै १५ लाख ९१ हजार ५६० र पोखराकै सक्कनेरी नहरकुलोस्थित एक घरबाट ३ लाख ८६ हजार ७५० रुपैयाँ बराबरको धनमाल गरी जम्मा ६९ लाख ३ हजार २६० रुपैयाँ बराबरको चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ । अन्यकोपनि उजुरी आउने क्रम जारी रहेको उनले बताए ।

कास्कीका प्रहरी प्रमुख एसपी ओलीले कटप्पाले आफ्ना नातेदारको समूह बनाएर चोरी, डकैती गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताए । ‘चोरी, डकैतीको आरोपमा अहिले पक्राउ परेकाहरुपनि कटप्पाकै आफ्ना आफन्त र नातेदारहरु हुन्’–उनले भने । उनका अनुसार चोरी डकैतीमा संलग्न सुरेश र सुवास कटप्पाका फुपूको छोराहरु हुन् । विमल ठूलो बुबाको छोरा हुन् भने दुर्गा मामाको छोरा हुन् ।

एसपी ओलीयाका अनुसार चोरी, डकैती कटप्पाको पुरानै धन्दा हो । करीब ८ वर्ष अघि २०७४ साल जेठ ११ गतेपनि कटप्पा करीब २० लाख बराबरको सुनचाँदी चोरेको आरोपमा पक्राउ परेको रेकर्डमा देखिएको उनले जानकारी दिए । त्यसबेला ५ वर्ष कैद सजाय भोगेर उनी २०७९ साल जेठ १० गते कारागारबाट निस्केका थिए । तर कैद सजाय भोगेर कारागारबाट निस्केपनि उनले चोरी, डकैती कार्य नछोडेको पाइएको उनले बताए । कारागारबाट निस्केपछि बैदेशिक रोजगारका लागि कतार गएको देखिन्छ,उनले भने,‘तर त्यहाँ ३ महिना बिताएपछि तुरुन्तै फर्केर चोरी, डकैतीमा संलग्न भएको पाईन्छ ।’

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी ओलीयाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।