गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ ४

गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले सरकारले गरेको सिफारिस पत्र आईतबार प्राप्त भएलगत्तै प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिए ।

गण्डकी प्रदेश सभाको पछिल्लो अधिवेशन गत चैत २६ मा अन्त्य भएको थियो । बजेट अधिवेशनमा बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुनुका साथै छलफलसहित पारित हुने गर्दछ । सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुपर्दछ ।

गण्डकी प्रदेशमा जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी प्रदेश सरकारको छ । अर्थमन्त्री डा.टकराज गुरुङ अहिले मन्त्रालयहरुको सिलिङ लिएर बजेटको सिद्धान्त र प्राथमिकतासँगै बजेट निर्माणको काममा जुटेका छन् ।

गण्डकी प्रदेशमा अहिले गत वर्ष भन्दा झण्डै ४ अर्ब कम बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षका लागि अघिल्लो साल गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट ल्याएको थियो । तर यस पटक साढे २९ अर्बको बजेट ल्याउने तयारीमा अर्थमन्त्री जुटेको निकट श्रोतले बताएको छ । यस वर्ष बजेट घट्छ,मन्त्रालय श्रोतले भन्यो,‘सम्भवत २९ अर्ब ५० करोडको सेरोफेरोमा बजेट ल्याउने तयारी छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।